
हेटौँडा : मकवानपुर जिल्लाका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । आइतबारदेखि जिल्लाभर खोप लगाउन सुरु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आगामी फागुन २२ गतेसम्म एचपीभी (सिकोलिन) खोप सेवा सञ्चालन गर्ने जनाएको छ । पाठेघरको मुखको क्यान्सर बिरुद्ध किशोरीहरुलाई एचपीभी खोप सेवा दिने नेपाल सरकारको कार्यक्रम अनुसार खोप सेवा कार्यक्रम गरिएको जनाइएको छ । मकवानपुर जिल्लाका ४ हजार ४ सय ३ जना बालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस वर्षको लक्षित समूहमा जिल्लाभरका विद्यालयहरुमा कक्षा ६ मा अध्ययनरत ४ हजार २ सय ३० जना र विद्यालय नजाने १० वर्ष उमेरका १ सय ६ जना बालिकाहरु तथा अघिल्लो वर्षमा खोप लगाउन छुटेका ११ वर्षदेखि १४ वर्ष उमेर समूहका ५७ जना जनालाई एचपीभी खोप लगाइने छ । विद्यालयमै खोप सेवा दिने र त्यसपछि फागुन २२ गतेसम्म जिल्लाका पालिकाहरु मार्फत विद्यालय नजाने १० वर्षका बालिकाहरुलाई खोप दिइने कार्यक्रम तोकिएको छ । पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेकोमा तीमध्ये १ हजार ३ हजार १३ जनाको मृत्यु नै हुने अनुमान रहेको छ । क्यान्सरकै कारण मृत्यु हुनेहरुमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो कारण हो ।
खोपबारे जनमानसमा विभिन्न भ्रमहरु फैलाइएकाले भ्रममा नपर्नसमेत आग्रह गरिएको छ । तत्कालीन रुपमा खोप लगाउँदा दुख्ने, छाला रातो देखिने, रिङ्गटा लाग्नेलगायतका समस्या कसैकसैलाई देखिए पनि यसबाट केही पनि हानि नहुने स्वास्थ्यकर्मीहरुको भनाइ छ । पछिल्लो समय विश्वभर अत्यधिक समस्याको रुपमा रहेको पाठेघरको मुखको क्यान्सर नेपालमा समेत बढ्दै गएपछि नेपाल सरकारले पहिलो पटक आर्थिक वर्ष २०७६/०७७ मा खोप कार्यक्रम सुरु गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७९/०८० र तेस्रो पटक आर्थिक वर्ष २०८१/०८२ मा अभियानको रुपमा एचपीभी खोप कार्यक्रम सञ्चालन भएको थियो । यस वर्षबाट यो खोप कार्यक्रम प्रत्येक वर्ष नियमित सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।