आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्म लक्ष्यको करिब ८२ प्रतिशतमात्र राजस्व संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ३ अर्ब ९७ करोड ६२ लाख २३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा कार्यालयले ३ अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँमात्र राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा कुल ८ अर्ब ९८ करोड ९८ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य छ । पुस मसान्तसम्म कार्यालयले कुल राजस्व लक्ष्यको करिब ३९ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कार्यालयले ८ अर्ब ६५ करोड ६७ लाख २२ हजार राजस्व संकलनको लक्ष्य राखे पनि ७ अर्ब २० करोड ४६ लाख २२ हजार रुपैयाँमात्र राजस्व संकलन भएको थियो ।

सरकारको आम्दानीको मुख्य स्रोत कर नै हो । सरकारको आम्दानीको स्रोतहरुमा कर राजस्व, गैरकर राजस्व र ऋण तथा अनुदान गरी मुख्य तीनवटा हुने गर्दछ । नेपालमा सरकारको आम्दानीको अधिकांश हिस्सा कर राजस्वबाट प्राप्त हुने गरेको छ । सरकारको कुल बजेटको करिब दुई तिहाइ साधारण खर्चको रुपमा विनियोजन हुने र उक्त खर्च सरकारले लगभग कर राजस्वबाट नै जुटाउने गरेको छ । सरकारले विनियोजित बजेट परिचालन गर्न कर तथा राजस्व संकलन पनि लक्ष्यअनुरुप असुली हुनुपर्छ । यसका लागि कर संकलनलाई प्रभावकारी बनाउनु आवश्यक छ । सरकारलाई कर तिर्नु नागरिक र व्यवसायीको दायित्व हो । यस्तो दायित्व निर्वाह गर्न सरकारले पनि उचित वातावरण बनाउनुपर्छ । करदातालाई सहजरुपमा कर तिर्ने उचित व्यवस्था सरकारले मिलाउनुपर्छ । त्यतिमात्र नभई कर छली गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न पनि सरकारले खुट्टा कमाउनु हुँदैन । विकसित देशमा कर तिर्ने कुरालाई नागरिकले आफ्नो सम्मान र गौरवको रुपमा लिने गरे पनि नेपालमा भने कर छली गर्ने कुरालाई आम नागरिक र व्यवसायीले आफ्नो सफलता मान्ने गरेका कारण पनि सरकारले लक्ष्यअनुसार कर संकलन गर्न सकिरहेको पाइँदैन ।

आन्तरिक राजस्व कार्यालय हेटौँडाले लक्ष्यअनुरुप कर संकलन गर्न नसक्नुको एउटा कारणमा गत भदौको जेनजी आन्दोलनलाई मानेको छ । हेटौँडा बजार क्षेत्रको राजमार्ग विस्तारका क्रममा व्यवसायी र घरधनी प्रभावित भएका कारण पनि लक्ष्यभन्दा कम राजस्व संकलन भएको कार्यालयको दावी छ । कर संकलनमा कमी आउनुमा कार्यालयले भनेजस्तो जेनजी आन्दोलन र सडक विस्तारले केही हदसम्म प्रभाव पारे पनि विगत वर्षमा पनि लक्ष्यअनुरुप कर संकलन हुन नसकेको तथ्यांकले प्रमाणित गर्दछ । गत आर्थिक वर्षमा पनि आन्तरिक राजस्व कार्यालयले लक्ष्यको करिब ८३ प्रतिशतमात्र राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कार्यालयले लक्ष्यभन्दा धेरै पटक बजार अनुगमन गरेको छ । थप ९ सय ६४ व्यवसाय प्यान र २ सय १७ व्यवसाय भ्याटमा दर्ता भएका छन् । यस अवधिमा ७० वटा फर्महरु अन्तःशुल्कमा दर्ता भएका छन् । ४ हजार ४ सय ६६ जनाले स्थायी लेखा नम्बर लिएका छन् ।

थप व्यक्ति र व्यावसायिक फर्महरु करको दायरामा आइरहँदा राजस्व संकलन लक्ष्यभन्दा कमजोर देखिनुले कर असुली प्रणाली तथा राजस्व अनुमान प्रक्रियामा नै कमजोरी रहेको हुनसक्नेतर्फ कार्यालय गम्भीर बन्नुपर्छ । करको दायरामा आएका करदातालाई कर तिर्न प्रोत्साहन गर्न र सहज वातावरण बनाउन कार्यालयले विशेष ध्यान दिनुपर्छ । कर तथा राजस्व संकलनको अनुमानकै आधारमा सरकारले बजेट बनाउने भएकाले यस्तो अनुमान वास्तविकतामा आधारित हुनुपर्छ । करको सही अनुमान गरेर लक्ष्य निर्धारण गर्ने, कर संकलन प्रक्रियालाई सहज बनाउने, करदातालाई प्रोत्साहन गर्ने र कर छल्नेलाई कारबाहीको दायरामा नल्याउँदासम्म राजस्व संकलन कमजोर भइरहने निश्चित छ ।