नेपालमा विद्यालय तहको पठनपाठन वैशाखबाट सुरु हुन्छ । केही हिमाली जिल्लामा बाहेक देशका सबै क्षेत्रमा वैशाखबाट शैक्षिक सत्र सुरु भएर चैतमा समाप्त हुन्छ । कक्षा १० सम्मको वार्षिक परीक्षा पनि चैत महिनामा नै हुने गरेको छ । कक्षा १२ सम्मलाई विद्यालय शिक्षा मानिए पनि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैतमा हुने र त्यसको नतिजा आउन ३–४ महिना लाग्ने भएकाले कक्षा ११ को पठनपाठन भने साउनदेखि सुरु हुने गरेको छ । कक्षा ११ को परीक्षा जेठमा हुने भएकाले असारबाट कक्षा १२ को पठनपाठन सुरु गरेर वैशाखमा कक्षा १२ को वार्षिक परीक्षा गरिन्छ । विद्यालय तहको सबै कक्षाको वार्षिक परीक्षा चैत, वैशाख र जेठ महिनामा सम्पन्न गरिन्छन् । यसकारण माघदेखि विद्यार्थीहरु परीक्षाको विशेष तयारीमा जुट्ने गर्दछन् ।

यस वर्षको एसईई दिने विद्यार्थीहरुका लागि अहिले जिल्लाभर सबैजसो विद्यालयमा एसईई तयारी परीक्षा चलिरहेको छ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गत माघ २२ गते बिहीबारदेखि एसईई तयारी परीक्षा सुरु भएको हो । हेटौँडा उपमहानगरपालिकासहित बकैया, मकवानपुरगढी, मनहरी र कैलाश गाउँपालिकाका विद्यालयहरुमा एसईई तयारी परीक्षा सुरु भएको छ । सामुदायिक विद्यालयहरुले नगरस्तरीय शैक्षिक समन्वय समितिले तयार पारेको प्रश्नपत्र प्रयोग गरेर परीक्षा लिइरहेका छन् भने संस्थागत विद्यालयहरुले प्याब्सनले बनाएको प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरेका छन् ।

सामुदायिक विद्यालयहरु अधिकांशले आफ्नै विद्यालयमा परीक्षा सञ्चालन गर्दा संस्थागत विद्यालयहरुले एसईईकै जस्तो बाह्य विद्यालयमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिरहेका छन् । नगरस्तरीय शैक्षिक समन्वय समितिको प्रश्नपत्रबाट हेटौँडाका २८, बकैया र कैलाश गाउँपालिकाका सबै, मनहरी र मकवानपुरगढी गाउँपालिकाका ६–६ वटा विद्यालयले परीक्षा सञ्चालन गरेका छन् । परीक्षामा हेटौँडाका करिब एक हजार ६ सय र अन्य पालिकाका एक हजार विद्यार्थी सहभागी छन् । प्याब्सनअन्तर्गतका संस्थागत विद्यालयहरुले हेटौँडामा ६ वटा, मनहरी र थाहा नगरमा एक–एक वटा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेका छन् । ३७ वटा संस्थागत विद्यालयका एक हजार ३ सय ५१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

यस वर्ष आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने भएकाले एसईई परीक्षा केही ढिला गरी चैत १९ गतेबाट सञ्चालन हुँदैछ । विद्यालय तहको कक्षा ९ सम्मको परीक्षा एसईई अगाडि नै सक्ने गरी सञ्चालन हुने देखिन्छ । कक्षा १२ को परीक्षा पनि वैशाख दोस्रो वा तेस्रो साताबाट सञ्चालन हुने सम्भावना छ । कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा स्थानीय तहले, कक्षा १० को एसईई र कक्षा १२ को एसएलसी परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दछ भने अन्य कक्षाका परीक्षा विद्यालयहरुले नै सञ्चालन गर्ने गरेका छन् । विद्यालय तहको वार्षिक परीक्षा नजिकिँदै गर्दा विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय सबै परीक्षाको तयारीमा चिन्तित बन्ने गर्दछन् ।

अबको करिब दुई महिनामा कक्षा १० सम्मका वार्षिक परीक्षा सम्पन्न हुनेछन् । सबै कक्षाको परीक्षा विद्यार्थीका लागि उत्तिकै महत्वपूर्ण भए पनि एसईई परीक्षालाई भने विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सबैका लागि विशेष चासो र चिन्ताको विषय बन्ने गरेको छ । यही भएर स्थानीय तहदेखि विद्यालय, अभिभावक सबैको सक्रियतामा विशेष तयारी कक्षाहरु समेत सञ्चालन हुने गरेका छन् । अधिकांश विद्यार्थीहरुले परीक्षालाई गम्भीररुपमा लिएर हडबडाउने, आत्तिने, डराउने र त्यसलाई अनावश्यक बोझको रुपमा लिने गरेको पाइन्छ । परीक्षा आफूले पढेका र सिकेका कुराहरुबाट सोधिएका प्रश्नको उत्तर लेख्ने र एउटा कक्षा वा तह पार गर्न पूरा गर्नुपर्ने एउटा नियमित प्रक्रियाको रुपमा लिनु आवश्यक छ । विद्यार्थीले परीक्षाको व्यवस्थित तयारी गरेर निर्धक्क भएमा परीक्षाको अनावश्यक डर, त्रास हट्न सक्छ ।