हेटौँडा : हेटौँडा-२ स्थित बालजागृति ईंग्लिस सेकेण्डरी स्कूलको ५ दिवसीय अभिभावक दिवस कार्यक्रम सुरु भएको छ। आजबाट सुरु भएको अभिभावक दिवस कार्यक्रम बिहीबारसम्म चल्नेछ। अभिभावक दिवसलाई विद्यालयले वृहत् साँस्कृतिक तथा शैक्षिक प्रदर्शनीको रुपमा मनाउँदै छ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षता तथा वडाध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा अभिभावक दिवसको उद्घाटन कार्यक्रम भएको छ। आज पहिलो दिन पूर्व प्राथमिक तहका विद्यार्थीका अभिभावक दिवस भइरहेको छ। भोलि सोमबार कक्षा १ देखि कक्षा ३ सम्मको अभिभावक दिवस कार्यक्रम हुनेछ भने पर्सी मंगलबार कक्षा ४ र ५ का विद्यार्थीको अभिभावक दिवस हुने प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिनुभयो।
बुधबार कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीको अभिभावक दिवस कार्यक्रम हुनेछ भने बिहीबार शैक्षिक सामग्री प्रदर्शनीको आयोजना हुनेछ। अभिभावक दिवसमा विद्यार्थीले उद्घोषण, गायन, नृत्य, वाद्यवादन कला प्रस्तुत गर्नेछन्। १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ हजार ६ सय २० जना विद्यार्थी अध्ययनरत छन्। अभिभावक दिवस उद्घाटन कार्यक्रममा राष्ट्रिय गाउँदै विद्यार्थी।











