कथा चौतारीमा प्रस्तुत गर्ने कथा देखाउँदै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा मंगलबारदेखि वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । शनिबारसम्म विभिन्न प्रतियोगिताहरु गरी खेलकुद सप्ताह मनाइने विद्यालयकी सहायक प्रधानाध्यापक शर्मिला घिमिरेले जानकारी दिनुभयो ।

खेलकुद सप्ताहको सुरुवाती तीन दिन विद्यार्थीहरूलाई मौलिक र व्यावहारिक सीपतर्फ केन्द्रित गरिएको छ । सप्ताहको पहिलो दिन मंगलबार ‘कथा चौतारी’, बुधबार विद्यार्थीहरूबीच धुप बनाउने प्रतियोगिता र बिहीबार विद्यार्थीहरूले टपरी गाँस्ने प्रतियोगिता सम्पन्न भएको छ । यस्तै खेलकुद सप्ताह अन्तर्गत शुक्रबार र शनिबार रिले दौड, लङ्ग जम्प, ट्रिपल जम्प, भलिबल, सटपुट र ज्याभलिन थ्रो लगायतका खेलहरू आयोजना गरिने सहायक–प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।

घिमिरेका अनुसार विद्यालयमा अध्ययनरत कुल ६ सय ३८ जना विद्यार्थीमध्ये ५ सय जनाले विभिन्न प्रतियोगिताहरूमा सहभागिता जनाएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई रातो, हरियो, पहेँलो र निलो गरी चारवटा सदनमा विभाजन गरिएको छ ।