हेटौँडा : मकवानपुरमा एसईई तयारी परीक्षा सुरु भएको छ । बिहीबारदेखि मकवानपुरको हेटौँडा उपमहानगर, कैलाश गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयमा एसईई तयारी परीक्षा सुरु भएको हो ।
संस्थागत र सामुदायिक दुबै विद्यालयमा परीक्षा एक साथ सुरु भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिले तयार पारेको प्रश्नपत्रका आधारमा परीक्षा हेटौँडा उपमहानगरपालिका र अन्य पालिकामा परीक्षा भएको समितिका अध्यक्ष भोगेन्द्र लुइटेलले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिकाका २८ वटा विद्यालय, बकैया र कैलाश गाउँपालिकाका सबै विद्यालय, मनहरी गाउँपालिकाका ६ वटा विद्यालय र मकवानपुरगढी गाउँपालिकाका ६ वटा विद्यालयले पनि नगरस्तरीय शैक्षिक समन्वय समितिले तयार पारेको प्रश्नपत्र प्रयोग गरेर तयारी परीक्षा सञ्चालन गरेको हो ।
हेटौँडा उपमहानगरपालिकाको भुटनदेवी मावि र बालज्योति माविले भने फागुनमा परीक्षा लिने जनाएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिको प्रश्नपत्र प्रयोग गरेर हेटौँडा, बकैया, कैलाश, मकवानपुरगढी र मनहरीका विद्यालयमा २ हजार ६ सय ४२ जना विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षा दिनको १ बजे सुरु भएर ४ बजेसम्म सञ्चालन भएको थियो । हेटौँडाका २८ वटा विद्यालयका १ हजार ६ सय ४७ जना विद्यार्थीले पहिलो दिनको परीक्षा दिएका छन् । हेटौँडा–१८ स्थित गोरक्षेश्वर मावि र ज्योति माविले भने परीक्षाकेन्द्रको रुपमा साटासाट गरेर विद्यार्थीलाई परीक्षामा सहभागी गराएका छन् ।
यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मार्फत देशभर एसईई तयारी परीक्षा बिहीबारबाटै सुरु भएको छ । मकवानपुरका ३७ वटा संस्थागत विद्यालयका १ हजार ३ सय ५१ जना विद्यार्थीले एसईई तयारी परीक्षामा सहभागी छन् । प्याव्सन मकवानपुरले जिल्लामा परीक्षा केन्द्र निर्धारण गरेर विद्यार्थीले फरक विद्यालयमा परीक्षा दिएका छन् । हेटौँडा उपमहानगरमा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमी, हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदन र रिलायन्स एकेडेमी, हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कूल र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस्तै मनहरीमा युनाइटेड बोर्डिङ स्कूल र युनिभर्सल लर्निङ एकेडेमीमा परीक्षा केन्द्र तोकिएको छ भने थाहा नगरमा पालुङ बहुमुखी क्याम्पस र बज्रबाराही माविमा परीक्षा सञ्चालन गरिएको छ ।
प्याव्सनले बिहान ७ बजेदेखि परीक्षा सञ्चालन गरिरहेको छ । यस वर्षको एसईई आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ ।











