Home खेलकुद ब्याडमिन्टन प्रतियोगितामा मुकुन्द र उमेशको जोडी प्रथम

ब्याडमिन्टन प्रतियोगितामा मुकुन्द र उमेशको जोडी प्रथम

व्याडमिन्टन प्रतियोगिताका विजेता र उपविजेतासहित आयोजक र निर्णायकहरु ।

हेटौँडा : ज्ञानदीप शिक्षा (जीएस) निकेतन माविको रजत जयन्तीको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा मुकुन्दप्रसाद भट्टराई र उमेश पौडेलको जोडी प्रथम भएको छ । जीएस निकेतनको अभिभावक तथा ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाको सेयर सदस्यबीच बुधबार भएको युगल ब्याडमिन्टन प्रतियोगितामा भट्टराई र पौडेलको जोडी प्रथम भएको हो ।

प्रतियोगिताको फाइनलमा हरेराम आचार्य र राजेश घिमिरेको जोडीलाई २१–८ र २१–१५ को सोझो सेटमा हराउँदै भट्टराई र पौडेलको जोडी प्रथम भएको छ । पहिलो सेमिफाइनल खेलमा हरेराम र राजेशको जोडीले विश्वनारायण श्रेष्ठ र रघुराम पराजुलीको जोडीलाई १८–२१, २१–१५ र २१–१९ को सेटामा पराजित गरेको थियो । दोस्रो सेमिफाइनलमा मुकुन्द र उमेशको जोडीले सुवास कार्की र प्रकाश बानियाँको जोडीलाई २१–१६ र २१–१३ को सेटमा हराउँदै फाइनलमा पुगेको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा सुवास कार्की र प्रकाश बानियाँको जोडीले विश्वनारायण श्रेष्ठ र रघुराम पराजुलीको जोडीलाई २१–४ र २१–७ को सेटमा पराजित गरेको छ । प्रतियोगितामा ५ वटा टिमको सहभागिता थियो । प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । शुक्रबार पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ ।

Exit mobile version