Home खेलकुद कमाने प्रिमियर लिग : हारका बाबजुद कमाने लायन्स शीर्षस्थानमा

कमाने प्रिमियर लिग : हारका बाबजुद कमाने लायन्स शीर्षस्थानमा

हेटौँडा : हेटौँडामा जारी चौथो संस्करणको कमाने प्रिमियर लिगमा बुधबार कमाने लायन्सले पहिलो हार व्यहोरे पनि अंक तालिकाको शीर्षस्थानमै कायम छ । बुधबार बिहान भएको खेलमा कमाने राइडर्सले कमाने लायन्सलाई ४६ रनले पराजित ग¥यो । पहिले व्याटिङ गरेको कमाने राइडर्सले १८ दशमलव ५ ओभरमा १५० रन बनाएर अल आउट भयो । राइडर्सका लागि विपुल खनालले ६१ रन र विष्णु राउतले ५२ रन बनाए ।

बलिङमा राइडर्सका विष्णु राउतले ४ विकेट, रामनरेश गिरीले ३ विकेट र नवी आलमले २ विकेट लिएका थिए । १ सय ५१ रनको लक्ष्य पछ्याएको कमाने लायन्स १६ दशमलव ४ ओभर १ सय ४ रनमै अलआउट हुन पुग्यो । लायन्सका विकास डंगोलले सर्वाधिक २६ रन र शुभ कंशाकारले २२ रन मात्रै बनाए । बलिङतर्फ लायन्सका समिर चौलागाईले २ विकेट, शुभ कंशाकार र विवेक सहनीले समान ३/३ विकेट लिएका थिए ।

यस्तै, बुधबार भएको अर्को खेलमा कमाने थर्डआइले कमाने रोयल्सलाई पराजित गरेको छ । अचानक मौसम खराब हुँदा डिलएस पद्दति अनुसार कमाने थर्डआइ ४७ रनले जित हात पारेको हो । सुरुमा व्याटिङ् गरेको थर्डआइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । थर्डआइका लागि तक्षक सिम्खडाले अविजित १ सय ४३ रन बनाए । यो प्रतियोगिताको अहिलेसम्मकै सबभन्दा उच्च व्यक्तिगत स्कोर हो । थर्डआइका अहमद राजाले ४ विकेट, निकेश श्रीवास्तव र समिर मगरले समान २/२ विकेट लिए । कमाने रोयल्स १२ दशमलव ५ ओभरमा ९१ रनमै अलआउट भयो । रोयल्सका लागि आदित्य पटेलले २४ रन बनाउँदा विश्व पराजुलीले १ विकेट, प्रेम क्षेत्री र भुवन थापाले समान २/२ विकेट लिए ।

प्रतियोगितामा ४ खेलमा ३ जित निकालेको कमाने लायन्स अंक तालिकामा पहिलो स्थानमा रहेको छ भने ३ खेलमा २ जित निकालेको कमाने एक्सपर्ट भिजन–११ दोस्रो र समान अंक भएपनि रनरेटको आधारमा कमाने राइडर्स तेस्रो स्थानमा रहेको छ । लगातार ३ खेल हारेको कमाने रोयल्स अंक तालिकाको पुच्छारमा रहेको छ । माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । हेटौँडा–८ स्थित कमाने क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको छ ।

Exit mobile version