Home खेलकुद कमाने प्रिमियर लिगः कमाने एक्सपर्ट र कमाने लायन्सको जित

कमाने प्रिमियर लिगः कमाने एक्सपर्ट र कमाने लायन्सको जित

हेटौँडाः हेटौँडामा जारी चौथो संस्करणको कमाने प्रिमियर लिगमा कमाने एक्सपर्ट भिजन–११ ले पहिलो जित हासिल गरेको छ । आइतबार एक्सपर्ट भिजन–११ ले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा कमाने राइडर्सलाई ७१ रनले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको एक्सपर्ट भिजन–११ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । एक्सपर्ट भिजनका सञ्जीव थापाले सर्वाधिक अविजीत ९७ रन, सुजित पटेलले ४१ रन र इरफान अलीले ३६ रन बनाएका थिए । यसैगरी बलिङतर्फ असिम श्रेष्ठ, सञ्जीव थापा र सागर मगरले समान २/२ विकेट लिएका थिए ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको कमाने राइडर्सले १९ दशमलब ५ ओभरमा १ सय १६ रनमै अलआउट हुन पुग्यो । कमाने राइडर्सका लागि विष्णु राउतले सवार्धिक ३३ रन बनाएर आउट भए भने नवी आलमले २ विकेट, प्रविन घिमिरे र रामनरेश गिरीले समान १/१ विकेट प्राप्त गरेका थिए । एक्सपर्ट भिजनका सञ्जीव थापा प्लेयर अफ द म्याच घोषित भएका छन् । यसअघि शनिबार प्रतियोगिताको उद्घाटन खेलमा कमाने एक्सपर्ट भिजन–११ को टिम कमाने इप्लानेट ब्लास्टर्ससँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै, आइतबार भएको अर्को खेलमा कमाने लायन्सले कमाने थर्डआइलाई पराजित गरेको छ । कमाने लायन्सले कमाने थर्डआइलाई ८ विकेटले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । सुरुमा ब्याटिङ गरेका कमाने थर्डआइले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन जोडेको थियो ।

१ सय १४ रनको लक्ष्य पछ्याएको कमाने लायन्सले १० दशमलब ५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । लायन्सका लागि शुभ कंसाकारले सर्वाधिक ७६ रन बनाएका थिए । बलिङमा ११ रनमात्रै खर्चेर ४ विकेट प्राप्त गरेका कंसाकार उत्कृष्ट अलराउन्डर प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भए । कमाने लायन्सको जितमा नायक बनेका कंसाकार लगातार दोस्रो पटक प्लेयर अफ द म्याच बनेका हुन् । यसअघि शनिबार भएको खेलममा कमाने लायन्सले कमाने रोयल्सलाई ८ विकेटले हराउँदा कंसाकार प्लेयर अफ द म्याच घोषित भएका थिए ।

हेटौँडा –८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि जनही ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएकोे छ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहेको छ ।

Exit mobile version