हेटौँडा : नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले नेपाली कांग्रेसमा आबद्ध सबैले गुटगत भावना हटाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । आइतबार हेटौँडा नगर कमिटीको पूर्ण बैठकमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली कांग्रेसको निवर्तमान केन्द्रीय सहमहामन्त्री तथा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले कांग्रेसभित्रको गुटगत भावना हटाएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
महाधिवेशनपछि पार्टीमा नयाँ उमङ्गसहित निर्वाचनमा होमिएको समयमा पुराना विषयममा मन दुखाउन नहुनेमा उहाँले जोड दिनुभयो । यसअघि कांग्रेसभित्र मौलाएको गुटगत द्वन्द्वले केन्द्रदेखि जिल्लासम्मै असर पारेकोले अबको क्रममा सबै कांग्रेसजनहरु एकढिक्का हुनु जरुरी भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कांग्रेस मकवानपुर सभापति एवम् प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार बुद्ध लामाले सबै कांग्रेसीहरु एक भई निर्वाचन को तयारीमा लाग्न आग्रह गर्नुभयो । उहाँले अहिलेको समयमा प्रतिपक्षीहरुले निर्वाचनमा जित हासिल गर्न सामाजिक सञ्जालको अत्याधिक प्रयोग गरिरहेको परिप्रेक्ष्यमा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई पनि सामाजिक सञ्जालमार्फत सञ्चार गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उमा दाहाल, कांग्रेस मकवानपुरका पूर्वसभापति एवम् निर्वाचन परिचालन समिति संयोजक माइकल रामचन्द्र अर्याल, जिल्लाका पूर्वसभापतिहरु रघुरमण न्यौपाने, बिष्णुप्रसाद लामिछाने, कांग्रेस बागमती प्रदेशका सदस्यहरु, जिल्ला पदाधिकारी एवम् सदस्यहरु र हेटौँडा नगर समितिका पदाधिकारीहरुको सहभागिता थियो ।
