हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा आज ३८ जनाको स्वाब सङ्कलन गरिएको छ । कोरोना सङ्क्रमितसँग सम्पर्कमा आएका ३८ जनाको स्वाब सङ्कलन गरेर हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापना गरिएको कोरोना प्रयोगशालामा पठाइएको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योति राज लुइटेलले जानकारी दिनुभएको छ ।
मनहरी गाउँपालिकाले यसअघि पठाएको ७६ वटा स्वाब नमूनाको नतीजा प्राप्त हुन बाँकी रहेको सिनियर अहेव लुइटेलले जानकारी दिनुभएको छ । मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनमा अहिले ४ जना कोरोना सङ्क्रमित उपचाररत छन् भने ५ जना क्वारेन्टिनमा छन् । मनहरी गाउँपालिकामा हालसम्म २१ जना सङ्क्रमित पहिचान भएकोमा १७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भइसकेका छन् ।