Home मुख्य समाचार जलवायु परिवर्तनबाट महिला बढी प्रभावित

जलवायु परिवर्तनबाट महिला बढी प्रभावित

कार्यक्रमको उद्घाटन गर्नुहुँदै बागमती प्रदेश सभा सदस्य भारती पाठक ।

हेटौँडा : जलवायु परिवर्तनबाट महिलाहरु बढी प्रभावित हुने सरोकारवालाहरुले बताएका छन् । शनिबार प्राकृतिक श्रोतमा महिला अधिकार सञ्जालको आयोजनामा भएको जलवायु परिवर्तन र जैविक विविधता संरक्षण सम्बन्धी जिल्लास्तरीय महिला प्रतिनिधीहरुका लागि प्रशिक्षण तथा संवाद कार्यक्रमका सहभागीहरुले जलवायु परिवर्तनबाट लैङ्गिक रुपमा महिला दोब्बर प्रभावित हुने बताएका हुन् ।

कार्यक्रममा मकवानपुरका जनप्रतिनिधी महिलाहरुलाई जलवायु परिवर्तनबाट पर्ने असरहरु, कारणहरु र जलवायु परिवर्तनका अनुकुलन परिस्थिति बनाउन आवश्यक योजनाहरुबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा सहभागी वडा सदस्य लगायत जनप्रतिनिधी महिलाहरुले स्थानीय सरकारबाट महिलामैत्री विकास तथा दिगो विकाससँग सम्बन्धित तालिमको व्यवस्था नगरेको तथा व्यवस्था भएकोमा पनि थोरै बजेट राखेर कर्मकाण्डी मात्रै बनाएको बताएका छन् । स्थानीय सरकारले महिलाहरुलाई जैविक विविधता तथा स्थानीय सम्भावित उत्पादनसँग जोडर बन सम्पदामा आधारित वा कृषिमा आधारित भन्दा पनि श्रृङ्गार, डल कुसन जस्ता मात्र तालिमहरु पटक–पटक एकै व्यक्तिहरुलाई दिँदै आएको उनीहरुले बताएका छन् ।

महिलाहरु परम्परागत हिसाबले पनि प्रकृति तथा कृषि र बनसँग जोडिँदै आएकोले जलवायु परिवर्तन अनुकुलन तथा न्युनीकरणमा पनि योगदान हुने हुँदा महिलाहरुलाई साना उद्योग तथा व्यवसाय तालिम यिनै विषयसँग जोडेर सञ्चालन गर्नुपर्ने तर्क महिला जनप्रतिनिधीहरुको छ । सञ्जालकी अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठक, मनहरी गाँउपालिकाकी उपाध्यक्ष सीता पुलामी मगर, इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, बकैया गाँउपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी माझी, हेटौँडा–१० का अध्यक्ष फुर्वा दोर्जे लामा, हेटौँडा–११ की अध्यक्ष जुना दाहाल, हेटौँडा उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु एवम् महिला वडा सदस्यहरुको सहभागिता थियो ।

Exit mobile version