हेटौँडा : मकवानपुरगढी गाउँपालिकामा आयुर्वेद स्वास्थ्य सेवा सुरु भएको छ । शुक्रबार मकवानपुरगढी–२, शिखरकटेरीस्थित वडा कार्यालयको भूईँतलामा आयुर्वेद स्वास्थ्य कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र सुरु गरिएको सहिद रुद्र स्मृति सामुदायिक सेवाकेन्द्रका स्वास्थ्य प्रमुख लक्ष्मण दहालले जानकारी दिनुभयो ।
संघीय सरकारको सर्शत कार्यक्रम अनुसार सेवा सुरु गरिएको हो । केन्द्रबाट १, २, ३ र ६ नम्बर वडाका स्थानीयलाई सेवा पुग्ने उहाँले बताउनुभयो । केहि समय पश्चात स्थानीयस्तरमा गएर सेवा गरिने छ । सेवा प्रदायक अभियानकर्ता (वैद्य) देवकी तिमल्सिनाले आयुर्वेद केन्द्रबाट सेवा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले आधुनिक चिकित्सा पद्दतिसँगै आयुर्वेदिक चिकित्सा पद्दतिलाई पनि विशेष प्राथमिकता दिइने बताउनुभयो । उहाँले आगामी बजेट निर्माणका क्रममा वडा तहदेखि नै आयुर्वेद सेवाको विस्तारमा ध्यान दिइने समेत जानकारी दिनुभयो ।
२ नम्बर वडा अध्यक्ष बखानसिंह पाख्रिनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा कार्यालय हेटौँडाका निमित्त प्रमुख अशोककुमार झाको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक समेत रहनुभएका वडा नं. १ का अध्यक्ष आईतसिं लो, ४ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना र ७ नम्बर वडा अध्यक्ष सूर्यबहादुर रुम्बा, गाउँ कार्यपालिका सदस्य पातलीमाया गोले लगायतको आतिथ्य रहेको थियो ।
