हेटौँडा : बागमती प्रदेशस्तरीय एकल गायन प्रतियोगिताका लागि हेटौँडाका ३ जना विद्यार्थी छनोट भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आयोजनामा बुधबार हुने प्रदेशस्तरीय प्रतियोगिताको लागि हेटौँडाका ३ जना छनोट भएका हुन् ।
सोमबार प्याब्सन जिल्ला कार्यसमिति मकवानपुरले जिल्लास्तरीय छनोट प्रतियोगिता आयोजना गरेको थियो । हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका ११ जना प्रतियोगिहरूले भाग लिएका थिए । प्रतियोगितामा सोलिड्यारिटी माविकी आक्सा खातुन र बालजागृति इङ्लिस सेकेन्डरी बोर्डिङ स्कूलका आर्मन कार्की र प्रसिद्धि लामिछाने उत्कृष्ट घोषित भएका हुन् । उत्कृष्ट तीनै जनाले जनही २ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने अन्य प्रतियोगीहरूले प्रमाणपत्र गरेका छन् । सहभागी प्रतियोगीहरूले राष्ट्रियता र प्रकृतिसँग सम्बन्धी गीतहरू प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रमुख निर्णायक सुनिता कुर्लाकोटी लुइटेल, पूर्णविक्रम अधिकारी र इश्वर खड्का हुनुहुन्थ्यो । प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ र विशिष्ट अतिथि प्याब्सन मकवानपुरका प्रमुख सल्लाहकार मदन कुमार दहालको उपस्थिति रहेको थियो । प्रदेशस्तरीय प्रतियोगिता बुधबार भक्तपुरमा हुनेछ ।
