हेटौँडा : मकवानपुरका सहीद रुद्रबहादुर पाख्रिनको २३ औं स्मृति दिवसमा सोमबार उहाँको शालिकमा माल्यार्पण गरिएको छ । सोमबार नेपाली कम्युनिष्ट पार्टी मकवानपुरगढी कमिटीको आयोजनामा मकवानपुरगढी–४ स्थित रुद्र स्मृति पार्क परिसरमा रहेको पाख्रिनको शालिकमा नेकपाका नेताहरुले माल्यार्पण तथा पुष्प अर्पण गरेका थिए ।
माल्यार्पण कार्यक्रमका सहभागीहरुले गणतन्त्र तथा छतिवनमा मोटरसाइकलमा सवार अवस्थामा बाटोमा तत्कालीन शाही सेनाद्वारा नियन्त्रणमा लिई रुद्रबहादुर पाख्रिनको हत्या गरेको बताएका थिए । पाख्रिनसँगै मोटरसाइकल चालक राजेन्द्र नेपाललाई पनि शाही सेनाले सँगै हत्या गरेको थियो । लोकतन्त्रका लागि सहीदहरुले ज्यान अर्पण गरेकाले उनीहरुले देखाएको बाटोमा हिँड्नु वर्तमान समयको आवश्यकता भएको बताएका छन् ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कुमारी मोक्तान, विजय गौतम, प्रेम बहादुर पुलामी, प्रदेश सचिवालय सदस्य जिल्ला नेता ध्रुव भुजेल लगायतको उपस्थिति रहेको थियो । सहीद पाख्रिनलाई बि.सं. २०६० पुस २८ गते तत्कालिन माओवादी जनयुद्धको समयमा सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।
