Home मुख्य समाचार मकवानपुरका नवप्रवेशी शिक्षकलाई सेवा प्रवेश तालिम

मकवानपुरका नवप्रवेशी शिक्षकलाई सेवा प्रवेश तालिम

सेवा प्रवेश तालिममा सहभागी शिक्षकहरु ।

हेटौँडा : शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले २०८२ सालमा नवप्रवेशी शिक्षकलाई सेवा प्रवेश तालिम सञ्चालन गरेको छ । मंगलबारदेखि बिहिबारसम्म हेटौँडामा सञ्चालित तालिममा २८ जना शिक्षक सहभागी थिए ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार शैक्षिक सत्र २०८२ मा नियुक्त हुनुभएका शिक्षकहरुलाई सेवा प्रवेश तालिम आयोजना गरिएको हो । विभिन्न चरणमा नियुक्त हुनुभएका शिक्षकहरुलाई नियुक्ति लगत्तै तालिम दिन अनुकुल नभएको र अहिले नयाँ शैक्षिक सत्रको पठनपाठन सुरुवात भइनसकेको अवधिमा तालिमको आयोजना गरिएको इकाई प्रमुख गिरीले बताउनुभयो । तालिममा प्राथमिक तहका २३ जना, निम्न माध्यमिक तहका ३ जना र माध्यमिक तहका २ जना गरी २८ जना सहभागी थिए ।

तालिमका क्रममा शिक्षकहरुलाई निर्धारित पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, विद्यार्थीको मूल्यांकन, विद्यमान शिक्षक ऐन, नियम, कक्षाकोठा व्यवस्थापन लगायतका विषयमा नवप्रवेशी शिक्षकहरुलाई अभिमुखीकरण गरिएको थियो । तालिममा सहभागी शिक्षकहरुले तालिममा सिकेका ज्ञान, सीपले नयाँ शैक्षिक सत्रको पठनपाठनमा गुणत्मक सुधार हुने प्रतिक्रिया जनाएका छन् ।

तालिममा इकाई प्रमुख सुदीप गिरीसँगै इकाईकी शाखा अधिकृत संगीता घले, हेटौँडा–१६, हटियास्थित जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाई, हेटौँडा–२ स्थित सिद्धार्थ माविका शिक्षक खेमराज लामिछाने र हेटौँडा–५ स्थित जेनिथ इन्टनेशनल स्कूलका प्रिन्सिपल श्रीबहादुर कार्कीले सहजीकरण गर्नुभएको थियो ।

Exit mobile version