हेटौँडा : उद्यमीहरु एक अर्कासँग समन्वय गरेर अघि बढ्नुपर्ने बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले बताउनुभएको छ । सोमबारदेखि बागमती प्रदेशको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयद्वारा हेटौँडामा आयोजना भएको बागमती प्रदेश स्तरीय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दे मन्त्री श्रेष्ठले उद्यमीहरुबिच समन्वय हुनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले एक उद्योगको खेर जाने निष्कासित वस्तु अर्को उद्योगको कच्चा पदार्थ पनि बन्न सक्ने भएकोले प्रत्येक सम्बन्धित उद्योगीहरुबिच समन्वय हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । प्रदेशको उद्योग नीतिलाई महिलामैत्री बनाउन के गर्ने भन्ने विषयमा सम्मेलनमा महिला उद्यमीहरुबिच छलफल गर्नसमेत उहाँले आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले महिला उद्यमी सम्मेलनमा हरेक नेपालीलाई योगदानको आधारमा पेन्सन दिने योजनालाई पूरा गर्न महिलालगायत सबै उद्यमीहरुले सामाजिक सुरक्षा कोषमा आफू र आफ्ना कर्मचारीलाई आबद्ध गराउनसमेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषमा आबद्ध हुन जान्नुपर्ने आधारभूत विषयहरुमा सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले सहजीकरण गर्नुभएको थियो । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका निर्देशक पुष्करचन्द्र घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभाका उद्योग, वन तथा वातावरण समिति सदस्य यमुनादेवी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिका सभापति गीता अमात्य, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषाल, उद्योग वाणिज्य महासंघ प्रदेश समितिका पदाधिकारी एवम् सदस्यहरु, जिल्ला स्थित पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । मंगलबारसम्म चल्ने सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट महिला उद्यमीहरुको सहभागिता रहेको छ ।











