हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरबाट विभिन्न मितिमा फैसला भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा आईतबार पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सवारी ज्यान मुद्दामा १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका हेटौँडा उपमहानगरपालिका–६ का ४१ वर्षीय बिदुर सापकोटा र चोरी सम्बन्धी मुद्दामा ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय भएका हेटौँडा उपमहानगरपालिका–१८ का उपेन्द्र विक रहेका छन् ।
यसैगरी चेक अनादर मुद्दामा अदालतबाट जरिवाना सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरूमा हेटौँडा उपमहानगरपालिका–५ निवासी सुस्मिता बोहरा क्षेत्री, हेटौँडा उपमहानगरपालिका–१५ निवासी आशा कुमारी थापा, ईश्वर मगर र मिथुन बल रहेका छन् । सुस्मिता र मिथुनले एक हजार र आशा र ईश्वरले ३ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने रहेको छ । पाँचै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।











