हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गणतन्त्र मास्न खोज्ने र अराजक गतिविधिमा संलग्न पक्षलाई कानुनी दायरामा नल्याएसम्म आसन्न प्रतिनिधिसभा निर्वाचन सजिलो नहुने बताउनुभएको छ । ५० औँ मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले बुधबार आयोजना गरेको चियापान कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले यस्तो बताउनुभएको हो ।
सम्बोधनका क्रममा मुख्यमन्त्री बानियाँले हतियार लुटपाट गर्ने र कारागारबाट भागेका कैदीबन्दीहरूलाई कानूनी दायरामा नल्याएसम्म चुनाव सजिलो नहुने बताउनुभयो । उहाँले नेपाली कांग्रेस चुनावबाट भाग्ने हैन, राष्ट्रियताको सवालमा सधैँ अडिग रहने पार्टी भएकोसमेत स्पष्ट पार्नुभयो ।
मुलुक अहिले अप्ठयारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसलगायतका सबै गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । कसले के गर्यो र को–कोसँग मिल्यो ? भन्नुभन्दा पनि नेपालको अखण्डता, स्वाधीनता र संघीयता जोगाउन गणतन्त्रवादीहरूको एकता अनिवार्य रहेको उल्लेख गर्नुभयो । स्वर्गीय बीपी कोइरालाको मेलमिलापको नीतिलाई सन्दर्भिक बताउँदै गणतन्त्रका कमीकमजोरी सुधार्न दलहरूबिच सहमति हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीभित्रको विवादलाई मध्यनजर गर्दै पार्टीभित्र द्वन्द्व फैलाउने छुट कसैलाई नभएको भन्दै चेतावनीसमेत दिनुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले सामाजिक सञ्जालले जन्माएका नेताहरूबाट देशको विकास सम्भव नहुने बताउनुभयो । उहाँले ‘लुकेर स्टेटस लेख्ने र नेपालको भूगोल तथा समाज नै नबुझेका सामाजिक सञ्जालले जन्माएका नेताहरूले यो देश बचाउन सक्लान् ?’ प्रश्न उठाउनु भयो । चियापान कार्यक्रममा नेपाली कांग्रेसका मकवानपुर जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
