Home अर्थ/व्यापार हेटौँडामा सडक खाना महोत्सव सुरू

हेटौँडामा सडक खाना महोत्सव सुरू

खाना महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौँडामा १२ औँ सडक खाना महोत्सव आइतबारदेखि सुरू भएको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा आइतबार सडक खाना महोत्सवको उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख लामाले स्थानीय सीप र उत्पादनको व्यवस्थापन गर्दा ठूलो आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भयो । महोत्वस एउटा मनोरञ्जन गर्ने चाडको रूपमा रहेको उल्लेख गर्नुहुँदै महोत्सवको ३/४ दिन मात्रै नभएर प्रत्येक दिन बेलुका स्थायी स्टल राख्ने योजना बनाइएको उहाँको भनाइ छ । ‘सडकमै जाऔं, सडकमै खाउँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ विगत ११ वर्षदेखि निरन्तर सडक खाना महोत्सव आयोजना गर्दै आएको होटल एसोसिएसन मकवानपुरले यस वर्ष पनि सडक खाना महोत्सवको आयोजना गरेको छ । सडक खाना महोत्सव बुधबारसम्म दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म हुने आयोजकले जनाएको छ ।

आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल एसोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले बताउनु भयो । महोत्सवमा साँस्कृतिकदेखि आधुनिक किसिमका विभिन्न खानाका परिकारहरु बिक्री गरिने बताइएको छ । मनोरञ्जनका लागि स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुले प्रस्तुती रहनेछ । यसले गर्दा स्थानीय कलाकारहरुको प्रचारप्रसार हुने र कला क्षेत्रको बजारीकरणमा सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ । महोत्सवमा करिब ६० भन्दा बढी स्टलहरु छन् ।

Exit mobile version