हेटौँडा : जिल्लास्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ । हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा आइतबार भएको प्रतियोगितामा तुलसी मेहरका शिक्षक देवेन्द्र चापागाईं र सुरेन्द्र गौतमको समूह प्रथम भएको हो ।
प्रतियोगितामा हेटौँडा–१७ स्थित राजदेवी माध्यमिक विद्यालयका शिक्षक गोपाल घिमिरे र गोकर्ण घिमिरे द्वितीय र भीमफेदी–८ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक अमृतप्रसाद भट्टराई र हिक्मतबहादुर शाही तृतीय हुनुभयो । हेटौँडा–१३ स्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षक राजु चौधरी र मधुसुदन हुमागाईले चौथो स्थान हासिल गर्नुभयो । प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न निजी र सामुदायिक गरी २५ वटा विद्यालयको सहभागिता थियो ।
यस्तै, आइतबार नै भएको जिल्लास्तरीय चित्रकला प्रतियोगितामा हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा (जिएस) निकेतनकी आरोही राई प्रथम, हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयकी रन्जना ठाकुर द्वितीय, जेम्स इङ्लिस बोर्डिङ स्कूलकी दिप्ती बलामी तृतीय र हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका सुमित साह चौथो भए । प्रतियोगितामा निजी र सामुदायिक गरी विभिन्न १९ वटा विद्यालयको सहभागिता थियो । प्रतियोगिताका विजेताहरुलाई सोमबार हीरक जयन्तीको समापन कार्यक्रममा पुरस्कार वितरण गरिने विद्यालयका शिक्षक राजेश अधिकारीले जानकारी दिनु भयो ।
विद्यालयले आइतबार नै अभिभावक अभिमुखीकरण कार्यक्रमको पनि आयोजना गरेको थियो । अभिभावक अभिमुखीकरणमा पत्रकार तथा प्राध्यापक सुरेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । विद्यालयले बुधबारदेखि सोमबारसम्म विविध कार्यक्रमको आयोजना गरी ६० औँ वार्षिकोत्सव (हीरक जयन्ती) मनाउँदै छ ।
