हेटौँडा: किर्ते नागरिकता तथा झुठा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेको अभियोगमा मकवानपुर जिल्ला अदालतले मकवानपुरको बकैइा गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । आइतबार जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलासले वडाध्यक्ष दंगालसहित वडासचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र जमानसिंह भ्लोनलाई जनही २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

जिल्ला अदालतले पूर्णबहादुर भ्लोन र रामबहादुर न्यासुरलाई आठ वर्ष कैद तथा एक लाख ३० हजार रुपैयाँ जरिवाना गर्न आदेश दिएको छ । किर्ते नागरिकता प्रमाणपत्र प्रयोग गरेर झुठा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेको अभियोगमा २०८१ असारमा वडाध्यक्ष दंगाल, वडासचिव श्रेष्ठसहित ९ जना विरुद्ध सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो । प्रतिवादी ९ जनामध्ये जमान सिं बुलुन र देवकृष्ण मानन्धर फरार छन् । वडाध्यक्ष दंगाल पुर्पक्षका लागि भीमफेदी कारागार चलान छन् । वडासचिव श्रेष्ठ भने धरौटीमा रिहा भएकी छिन् ।