पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : हेटौँडा–१९, बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव भोलि मंगलबारदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयले स्वर्ण महोत्सवबारे जानकारी दिएको हो ।

विद्यालयले मंगलबारदेखि शनिबारसम्म विद्यालयको ५०औं वार्षिकोत्सवलाई स्वर्ण महोत्सवको रुपमा मनाउन लागेको प्रधानाध्यापक प्रवोध बिडारीले जानकारी दिनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समुद्घाटन गर्ने स्वर्ण महोत्सवमा प्रत्येक दिन विशेष कार्यक्रमहरु गरी मनाइने जनाएको छ । महोत्सवअन्तर्गत बुधबारदेखि शुक्रबारसम्म पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार, द्वितीय हुनेले ५० हजार र तृतीय हुने टोलीले सन्त्वना पुरस्कार १५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

महोत्सवअन्तर्गत बिहीबार विद्यालय परिसरमा नगरस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ६ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने चौथो स्थान हासिल गर्नेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ । महोत्सवमा शिक्षक नृत्य प्रतियोगिता पनि रहने बताइएको छ । महोत्सवमा विद्यालयको गीत तथा वृत्तचित्र सार्वजनिक हुनेछ । स्वर्ण महोत्सवमा निर्मल स्मारिका प्रकाशन तथा स्वर्ण स्तम्भ अनावरण हुनेछ भने बृहत रक्तदान तथा बृहत स्वास्थ्य शिविर समेत सञ्चालन हुने विद्यालयले जनाएको छ ।

विद्यालयले महोत्सव अवधिभरी खानाको स्टल तथा मिनी व्यापार महोत्सव समेत सञ्चालन गर्ने भएको स्काउट मार्चपास प्रतियोगिता आयोजना गर्ने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार पाउने छ । सान्त्वना स्वरुप ५ हजार पुरस्कार राशिको व्यवस्था गरिएको छ ।

स्वर्ण महोत्सवमा पूर्वविद्यार्थीहरुबाट करिब २५ लाख रुपैयाँ प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत ओलीले बताउनुभयो । उहाँले हेटौँडा उपमहानगरपालिकाले ५ लाख, वडा कार्यालयबाट ५ लाख, मनहरी गाँउपालिकाबाट २ लाख, बुढानिलकण्ठ नगरपालिकाबाट २ लाख सहयोग प्राप्त भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा वडाध्यक्ष नरनाथ सुवेदीको पनि उपस्थिति रहेको थियो ।