Home अर्थ/व्यापार सकियो सामुदायिक रेडियोको सम्मेलन

सकियो सामुदायिक रेडियोको सम्मेलन

रेडियोको स्वीच अन गरेर साधारण सभाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री बानियाँ ।

सौराहा (चितवन)ः सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १९औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न भएको छ । शनिबार अकोराबका अध्यक्ष अर्जुन गिरीको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।


अकोराबको साधारण सभासँगै सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनको रुपमा आयोजना गरिएको थियो । साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोका भूमिका समुदायमा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सामुदायिक रेडियोको अभिभावकको रुपमा प्रदेश सरकारले साथ, सहयोग र सहकार्य गर्ने बताउनुभयो । समुदायको जागरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले भन्नुभयो, ‘प्रदेश सरकार र स्थानीय सरकार मिलेर सामुदायिक रेडियो अभियानलाई बचाउने र विकास गर्नुपर्छ । समुदायको जागरणमा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका छ ।’


मुख्यमन्त्री बानियाँले रेडियोकर्मीले पार्टी भन्दा माथि उठेर सामुदायिक रेडियो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रेडियो स्थापनाको समयमा कुनै दलप्रति आस्था राख्ने भए पनि रेडियोलाई कुनै दल वा संगठनको जस्तो बनाउन नहुनेमा मुख्यमन्त्री बानियाँले स्पष्ट पार्नुभयो । राजनीतिकरुपमा आआफ्नो आस्था भए पनि रेडियो माध्यमलाई कुनै पार्टीको डम्फु बनाउने माध्यमजस्तो नाउनुहुन्न भन्नेमा उहाँको जोड थियो । कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सामुदायिक रेडियोको अभियानमा साझेदारी र सहकार्यका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


साधारणसभाको बन्द सत्रमा कार्यवाहक महासचिव भक्त स्याङ्तान, कोषाध्यक्ष तुला अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यवाहक महासचिव र उपाध्यक्षको प्रतिवेदनमाथि साधारणसभामा सहभागी रेडियो सञ्चालकले प्रतिक्रिया जनाएका थिए । सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सुरेश श्रेष्ठले दलका संगठनको प्रभावमा रहेर पछिल्लो अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी साधारणसभामा उपस्थिति हुन नसक्नु गम्भीर विषय भएको बताउनुभयो । उहाँले रेडियोको गुणात्मक विकासमा ध्यान दिनुपर्ने, नागरिकको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । यस्तै सम्मेलनमा सहभागीले संगीत रोयल्टीको नाममा रेडियोलाई दुख दिने काम भएको, लोक कल्याणकारी विज्ञापन स्थानीय सरकारबाट पनि प्राप्त गर्नुपर्ने विषयमा जोड दिइएको थियो ।


साधारणसभामा सहभागी रेडियो सञ्चालकहरुले अकोराबले पर्याप्त सहजीकरण सहजीकरण गर्नु जरुरी रहेको पनि औँल्याइएको थियो । साधारण सभा तथा रेडियो सम्मेलनमा देशभरबाट २ सय भन्दा बढी सामुदायिक रेडियो सञ्चालकहरुको सहभागिता रहेको थिए ।

Exit mobile version