Home अर्थ/व्यापार श्रमिक सुरक्षित सहकारीको साधारणसभा सम्पन्न

श्रमिक सुरक्षित सहकारीको साधारणसभा सम्पन्न

साधारण सभामा उपस्थित अतिथिहरुको सामूहिक फोटो

हेटौंडाः हेटौंडा–४ स्थित श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।


कार्यक्रममा संस्थाका कोषध्यक्ष वीरेन्द्रप्रसाद ढुंगानाले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । यस सहकारीमा १ हजार ९ सय ५८ जना शेयर सदस्यहरु रहेका छन् भने शेयर पुँजी २ करोड ९० लाख ७६ हजार ६ सय रुपैयाँ रहेको छ । संस्थामा गत आर्थिक वर्ष २०८१/०८२ मा १ सय ४ जना शेयर सदस्यले सदस्यता त्याग गर्दा ४० जना नयाँ सदस्यहरु थप भएका छन् ।


संस्थाले गत आर्थिक वर्षमा कुल २६ करोड १५ लाख ३६ हजार ४ सय ८८ रुपैयाँ बराबरको कारेबार गरेको छ । संस्थाको कुल बचत १९ करोड ४२ लाख ९५ हजार ८ सय १२ रुपैयाँ र जगेडा कोषमा १ करोड ७४ लाख ५५ हजार ६ सय १७ रुपैयाँ रहेको छ । यसैगरी संस्थाको तरलता रकम ४ करोड ५२ लाख २ हजार ६ सय २८ रुपैयाँ रहेको छ । सहकारीको सिद्धान्तबमोजिम कुल बचत रकमको कम्तिमा १५ प्रतिशत तरलताको व्यवस्था हुनुपर्नेमा यस सहकारीको तरलता २३ दशमलब २६ प्रतिशत रहेको छ ।


संस्थाले गत आर्थिक वर्ष २०८१/०८२ मा २ करोड ३१ लाख ५५ हजार ८ सय ४४ रुपैयाँ आम्दानी गर्दा २ करोड २५ लाख ५५ हजार ५ सय ७२ रुपैयाँ खर्च गरेको छ । साधारणसभाको अवसरमा नियमित मासिक बचतकर्ता सम्मानबाट महिलातर्फ शशी थापा र पुरुषतर्फ विनोद पुडासैनी सम्मानित भएका हुन् ।


यसैगरी, नियमित ऋणको किस्ता भुक्तानी गर्ने चन्द्रबहादुर थोकर, अधिकतम ऋण उपभोग गरी ब्याज भुक्तानी गर्ने बुद्धराज अर्याल, संस्थाका जेष्ठ सदस्यका रुपमा महिलातर्फ जानदेवी काफ्ले र पुरुषतर्फ मीनबहादुर प्रधान सम्मानित भएका हुन् । यस्तै गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका छात्र विशेष अधिकारी र छात्रा स्वस्ती शाक्य सम्मानित भएका छन् । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बद्रीनाथ शर्माको प्रमुख आतिथ्य, वरिष्ठ सल्लाहकार ललितकुमार बस्नेतको विशिष्ट आतिथ्य र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version