हेटौंडाः मकवानपुर ग्यास व्यवसायी संघको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार हेटौंडा–१०, बसपार्कस्थित रोयल क्राउन होटलमा साधारणसभा भएको हो ।
विसं २०७० सालमा स्थापना भएको संघमा हाल ७५ जना सदस्य रहेका छन् । कार्यक्रममा मकवानपुर ग्यास व्यवसायी संघका कोषाध्यक्ष कृष्ण ढुंगानाले आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
संघको कुल सम्पत्ति ७ लाख ८९ हजार ५ सय ८३ रुपैयाँ रहेको छ । संघले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकबाट २ लाख १५ हजार ७ सय ३२ रुपैयाँ आम्दानी र २ लाख ११ हजार ६ सय ३५ रुपैयाँ खर्च गरेको छ । यसैगरी, संघले विभिन्न शीर्षकबाट ९ लाख ९८ हजार ३५ रुपैयाँ प्राप्त गर्दा २ लाख १२ हजार ४ सय ५२ रुपैयाँ भुक्तानी दिएको छ ।
संघले ग्यास कम्पनीहरुलाई होटेलहरुमा सिधै ग्यास आपूर्ति नगरी डिलरमार्फत् जान आग्रह गर्दै सबडिलरलाई १ हजार ८ सय ८० रुपैयाँभन्दा कममा ग्यास आपूर्ति गर्ने डिलरलाई सचेत गराएको छ । रेगुलेटर, लाइटर, पाइप, ग्यास चुलो सहुलियत दरमा उपलब्ध गराउन संघले नै पहल गर्ने जनाएको छ ।
साधारणसभाको अवसरमा संस्थाका अग्रज व्यवसायी सम्मानबाट बागमती प्रदेश कमिटीका अध्यक्ष विनोदमान श्रेष्ठ समानित हुनुभएको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि ग्यास विक्रेता महासंघका केन्द्रीय सल्लाहकार दिलिसगोविन्द जोशीले व्यापारमा मुनाफा नभएको मानसिकता हटाउन सुझाव दिनुभयो । उद्योगीलाई व्यापारीसँग नङ्ग र मासुको जस्तै सम्बन्ध बनाउन आग्रह गर्नुभयो ।
संघका अध्यक्ष चतुरबहादुर तामाङको सभाध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि मधुसुदन ढकाल, विनोदमान श्रेष्ठ, सल्लाहकार विष्णु ढुंगाना र विभिन्न ग्यास कम्पनीका व्यवस्थापकहरुको आतिथ्य रहेको थियो ।
