हेटौंडाः भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज (मंगलबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर ९ मा यो दिवस मनाउने गरिन्छ ।
सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रटाचार विरुद्धको दिवसको रुपमा मान्यता दिएको हो । संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखका दिन भ्रटाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धिलाई अनुमोदन गरेको थियो ।
संयुक्त राष्ट्रसंघले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको दिनको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । नेपालमा यसलाई ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’को रुपमा मनाइन्छ ।
पारदर्शिता, वस्तुनिष्ठता, जवाफदेहिता, इमानदारिता कायम गर्न र भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष भ्रष्टाचार विरुद्धको दिवस मनाइन्छ । आजको दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित समाजिक सेवामा लागेका अन्य संघसंस्थाहरुले पनि जुलुस, र्याली एवम् जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउने गर्दछन् ।
नेपालमा विभिन्न नयाँ स्वरुपबाट भ्रष्टाचारजन्य गतिविधिहरु हुने गरेको पाइएको छ । पछिल्लो समय विकास निर्माणको नाममा खोला नभएको ठाउँमा नहर र बाटो नभएको ठाउँमा पुल निर्माण गरेर भ्रष्टाचार गरेको घटना बाहिरिएको छ । कामभन्दा बढी रकम भुक्तानी दिएर पनि भ्रष्टाचार हुने गरेको छ ।
नेपालमा कुनै पनि संस्था तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पद वा अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेमा करवाही गर्न संवैधानिक निकायको रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ । नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठनसम्बन्धी र धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारीसम्बन्धी व्यवस्था गरिएको छ ।
