फाइल तस्वीर ।

हेटौँडा : शिक्षक सेवा आयोगले शनिबार सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षण अध्यापन अनुमतिपत्रको परीक्षामा १ हजार ७ सय आवेदक अनुपस्थित भएका छन् । परीक्षामा साढे पाँच हजार भन्दा बढी आवेदक सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जानकारी दिएको छ ।

शनिबार दिउँसो १ बजेबाट १ घण्टा हेटौँडामा भएको परीक्षामा ५ हजार ७ सय ६६ जना उपस्थित भएको इकाईले जनाएको छ । गत असोजमा निमावि तहको अध्यापन अनुमतिपत्रको परीक्षाका लागि फारम खुलेको थियो । परीक्षामा सहभागी हुन सात हजार पाँच सय जनाले फारम भरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । परीक्षामा १ हजार ७ सय ३४ जना अनुपस्थित रहे । यसअघि कात्तिक २२ गते माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा सम्पन्न भई नतिजा पनि प्रकाशित भइसकेको छ ।

माध्यमिक तहको अनुमतिपत्र प्राप्त भइसकेकाहरुलाई निम्न माध्यमिक तहको अनुमतिपत्र आवश्यक नपर्ने हुँदा परीक्षामा अनुपस्थित हुने दर बढी देखिएको हुन सक्ने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभएको छ । हेटौँडाका १४ वटा विद्यालय तथा क्याम्पसमा ३० वटा परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा सञ्चालन गरिएको थियो । अध्यापन अनुमतिपत्र प्राप्त गरेपछि मात्र शिक्षक सेवा आयोगले लिने स्थायी दरबन्दी नियुक्तिका लागि लिइने परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । आयोगले आधारभूत, निम्न माध्यमिक तथा माध्यमिक तहको अध्यापन अनुमतिपत्रको छुट्टा छुट्टै परीक्षा सञ्चालन गर्ने गरेको छ ।