हेटौंडा : ब्रह्मदिक एकेडेमी र बालज्योति माविका विद्यार्थीको सहभागितामा विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार हेटौंडामा सम्पन्न भएको छ । हेटौंडा–४ स्थित कभर्डहलमा सम्पन्न कार्यक्रममा दुई विद्यालयका संयुक्त डोजाङमा आबद्ध ७० जना तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।

पुरुषतर्फ १८ देखि ५४ केजीसम्मका १० वटा तौल समूह र महिलाहरुको १८ देखि ४५ केजीसम्म ९ वटा तौल समूहमा भएको प्रतियोगितामा पुरुषतर्फ विश्नेन्द्र साह र महिलातर्फ मेनुका पौडेल उत्कृष्ट हुन सफल भएका छन् । पुरुषतर्फ विभिन्न उमेर समूहमा उत्कृष्ट हुँदै प्रारब्ध ढुंगाना प्रथम भएका छन् । पवन बस्नेत द्वितीय र स्वर्णिम सुवेदी तथा सुप्रिम पौडेल तृतीय भएका छन् । महिलातर्फ रजनी तामाङ प्रथम भएकी छन् भने कृतिका गुरुङ द्वितीय र विशेषता थापा तथा गृष्मा न्यौपाने तृतीय भएको आयोजकले जनाएको छ ।

ब्रह्मदिक् तेक्वान्दो डोजाङको आयोजनामा भएको कार्यक्रममा हेटौंडा वडा नं ५ का वडा अध्यक्ष सुशील घिमिरे, जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यलगायतको उपस्थिति थियो । बालबालिकाहरुलाई तेक्वान्दो प्रतियोगिता आयोजना गर्दा खेलाडीहरुमा आत्मविश्वासको वृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक सुरसा ढुङ्गानाले बताउनुभयो ।