सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–९, रजैया पुलबाट लागूऔषध खैरो हिरोईनसहित मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजेको समयमा लागूऔषध खैरो हिरोईन बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले लागूऔषधसहित बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–१६ घर भई हाल हेटौँडा–१९, सान्नानटार बस्ने २६ वर्षीय अनिल सिन्तान, मनहरी गाउँपालिका–५, बसन्तपुरका २३ वर्षीय संजित आले, बसन्तपुर घर भई हाल मनहरी–३ लामिटार बस्ने ३३ वर्षीय बिनोद बहादुर बल र मनहरी–५ का ३० वर्षीय सुरेश स्याङ्तानलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट २ सय ९२ मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित बा ८९ प ६२९३ नम्बरको मोटरसाइकल बरामद गरेको छ । लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।