हेटौँडा : हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यका लागि निर्धारित समय सिमा नजिकीएसंगै हरेक दिन आन्दोलन र र्यालीका कार्यक्रम भइरहेका छन् । केही समुहले हेटौँडा बजार क्षेत्रका पसल तथा व्यवसाय नै बन्द गराउँदै आएका छन् भने सडक विस्तारको विरुद्धमा घरधनी र केही व्यवसायीहरुले र्याली तथा सभाहरु आयोजना गर्दै आएका छन् ।
उक्त विरोधका कार्यक्रमका बिच सडक डिभिजन कार्यालय हेटौँडा र जिल्ला प्रशासन कार्यालयले भने आन्तरिक तयारी तथा व्यवस्थापनलाई तिव्रता दिएको छ । सडक विस्तारको लागि आवश्यक औजार उपकरण सहित सूरक्षा संयन्त्र समेत तयारी अवस्थामा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभयो ।
उहाँले सडक विस्तारका लागि मंसिर २० गते काम थाल्ने र सो कार्यत्रमा सघाउन आग्रह गरेका छन् । सडक विस्तारको दिन (२० गते) शनिबार समेत परेकाले अनावश्यक भिडभाड नगर्न सिडिओ अधिकारीले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । ‘रमाइलो हेर्न जानेहरुलाई पनि घरधनीको समर्थनमा आएको भन्ने अर्थ लाग्न सक्ने भएकाले अनावश्यक व्यक्तिहरु उपस्थिती नहुन उहाँले आग्रह गर्नुभएको हो । आम नागरिकलाई अनावश्यक रूपमा उपस्थित नभई घरमै बसिदिन उहाँले आग्रह गर्नुभएको छ ।
हेटौंडाको सडक विस्तार कार्यमा अवरोध सिर्जना भए कडा सुरक्षा रणनीतिका साथ प्रस्तुत हुने उहाँको भनाई छ । सिडिओ अधिकारीले विकास निर्माणमा अवरोध गर्ने कसैलाई पनि छुट नहुने बताउनुभयो ।
सडक विस्तारको क्रममा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई प्रशासनले गम्भीर रुपमा लिएको छ । उहाँले बजार क्षेत्र, व्यापारी, घरधनी र सम्भावित घुसपैठ हुनसक्ने व्यक्तिहरुको बारेमा सूक्ष्म सूचना संकलन भइसकेको बताउनुभयो ।
जिल्लाको जनशक्तिले मात्र अपुग हुने देखिएकाले प्रदेश सरकार र डिआईजी कार्यालयमार्फत छिमेकी जिल्लाबाट समेत थप सुरक्षाकर्मी झिकाएर परिचालन गर्ने तयारी पूरा भएको उहाँले जानकारी दिनुभयो । विगतमा सडक विस्तारका क्रममा भएको झडप र अश्रुग्यास प्रहारको घटना दोहोरिन सक्ने आशंका रहेको उहाँले बताउनुभयो ।
स्थानीय प्रशासन ऐन र सडक ऐनले विकास निर्माणको काममा सहजीकरण गर्ने र अवरोध गर्न नहुने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै, कानुन विपरीत जाने जो कोहीलाई कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो ।
‘अहिले हामीले सुरक्षा चुनौतीलाई बढी नै आँकलन गरेका छौं । खरायोको सिकार गर्न जाँदा बाघको तयारी गर्ने भनेजस्तै हाम्रो तयारी छ।’ उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य पब्लिकलाई दुःख दिने होइन । तर कोही अपराधिक मानसिकता बोकेर आउँछ र शान्ति सुरक्षालाई नियन्त्रणमा लिन खोज्छ भने अश्रुग्यास र लाठी प्रहार स्वभाविक हुन्छ । स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर हामी स्थितिलाई नियन्त्रणमा लिन्छौं । यो विषय व्यापारी र भाडामा बस्नेहरुले कुरा बुझिसक्नुभएको छ । केही घरधनी र बाहिरी तत्वले मात्र समस्या खडा गर्न खोजेका हुन् । जुन हाम्रो नियन्त्रणमा रहन्छ ।’
उहाँले भदौ २४ गतेको जस्तै आन्दोलन हुन्छ भन्दै सामाजिक सञ्जाल र बाहिर धम्की (थ्रेट) दिने व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु निगरानीमा रहेको बताउनुभयो । बोल्ने स्वतन्त्रता छ भन्दैमा जे पनि बोल्ने र लेख्ने छुट छैन उहाँको भनाई छ । अनावश्यक भिड गर्ने र प्रोटेस्टको नाममा कानुन हातमा लिने काम भए कोही उम्किने नपाउने उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालय हेटौंडाको अनुरोधमा २० गतेका लागि प्रशासनले पूर्ण सुरक्षा बन्दोबस्त मिलाएको उनको भनाई छ । सिडिओ अधिकारीका अनुसार सडक कार्यालयले डोजर, आवश्यक उपकरण र जनशक्तिको तयारी गरिसकेको छ ।
‘एकैपटक तीन–चार ठाउँबाट घरहरु भत्काउन सुरु गरिनेछ । एउटा घर भत्काउँदा त्यहाँ सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । त्यसपछि टोली अर्को घरमा जान्छ । धेरैले आफैं भत्काउन थालेकोले ठूलो प्रतिरोध नहुने प्रशासनको विश्लेषण रहेको उहाँले बताउनुभयो ।
सडक भत्काउने क्रममा यातायात आवागमन नरोकिने उहाँले बताउनुभयो । सवारी साधनका लागि चौकीटोलबाट राप्ती खोला हुँदै रातोमाटे निस्कने बाइपास सडक तयार पारिएको उहाँको भनाई छ ।
ठूला र हेभी सवारी साधनलाई मुख्य सडकबाटै र साना सवारीलाई बाइपासबाट पास गराइने योजना रहेको सिडिओ अधिकारीको भनाई छ । उहाँका अनुसार सुरुको एक–दुई दिन केही असहज भए पनि त्यसपछि स्थिति सामान्य हुने र कतिपय घरधनीले आफैं संरचना हटाउन थाल्ने छन् ।











