हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको रामेछाप, चितवन र सिन्धुली जिल्लामा सोमबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरमा कारको ठक्करबाट पैदल यात्रीको मृत्युु भएको छ । यहि मंसिर १ गते सोमबार साँझ ७ बजेको समयमा पूर्व पश्चिम राजमार्गमा भण्डाराबाट खैरहनीतर्फ जाँदै गरेको बा ४ च २२५७ नम्बरको कारले स्थानिय ६२ वर्षीय अरुणराज अर्याललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । कारको ठक्करबाट घाइते भएका अर्याललाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा अर्यालको सोमबार बिहान ११ बजेर १० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कार चालक प्रहरीको सम्पर्कमा रहेको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुमा आगोले पोलेर घाईते भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय वीर बहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार राती १० बजेको समयमा खत्रीले आफूले खाएर फालेको चुरोटको ठूटोबाट अचानक आफु सुत्ने कोठामा आगलागी भएको थियो । आगोले पोलेर घाइते भएका खत्रीलाई उपचारका लागि काठमाडौंस्थित किर्तिपुर अस्पताल लगिएको थियो । उपचारका क्रममा सोमबार बिहान १० बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–६, भर्ताहीमा कमलाखोला दहमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय ठम्मरे बहादुर विक रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ ५ बजेको समयमा विक माछा मार्न जान्छु भनि घर बाट गएका थिए । सोमबार बिहानसम्म घर नआए पश्चात खोज तलास गर्दै जाँदा बिहान ११ बजेर ३० मिनेटको समयमा कमलाखोलाको दहमा डुबेर मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।