हेटौँडा : हेटौँडा प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिक ‘क’ वर्गमा पर्न सफल भएको छ । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९/८० को वर्गीकरणको नतीजा सोमबार प्रकाशित गरेअनुसार समृद्ध समाज ‘क’ वर्गमा रहेको हो । समृद्ध समाज निरन्तर ‘क’ वर्गमा रहँदै आएको छ ।
स्थानीय समाचार र विचारलाई प्राथमिक दिँदै आएको समृद्ध समाज दैनिक स्थानीय ‘क’ वर्गमा वर्गीकृत भएको हो । समृद्ध समाज निरन्तर ‘क’ वर्गमा वर्गीकृत भएपछि सम्पादक सुरेश श्रेष्ठले सुखद् नतीजा र उचित मूल्यांकन भएको प्रतिक्रिया दिनुभएको छ । १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको समृद्ध समाज मकवानपुर जिल्लाको प्रमुख दैनिक समाचारपत्र भएको उल्लेख गर्नुहुँदै सम्पादक श्रेष्ठले पाठक माझ लोकप्रिय हुँदै गर्दा काउन्सिलको वर्गीकरणले निरन्तर क्रियाशील हुन उत्प्रेरित गरेको बताउनुभएको छ ।
पछिल्लो समय छापा पत्रकारिताको अभ्यास चुनौतिपूर्ण बन्दै गएको सन्दर्भमा पाठकलाई आकर्षित गर्न र दक्ष जनशक्तिको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । काउन्सिलले समाचारपत्रको विक्री–वितरण, प्रकाशित हुने समाचार तथा विचारलाई आधार मानेर गरिएको मूल्यांकनमा निरन्तर अब्बल ठहरिनु उपलब्धीको विषय भएको सम्पादक श्रेष्ठको भनाइ छ ।
मकवानपुरबाट प्रकाशित हुने १६ वटा पत्रिका वर्गीकरणमा परेका छन् । समृद्ध समाजसँगै हेटौँडा सन्देश र साझा कुरा दैनिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रदेश दैनिक भने ‘ख’ वर्गमा वर्गीकृत भएको छ । मकवानपुरबाट प्रकाशन हुने हेटौँडा खबरपत्र साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ भने थाहा दर्शन, मध्यस्थता, सही खबर, नमस्कार, विकास खबरपत्रिका र अखबार साप्ताहिक ‘ख’ वर्गमा वर्गीकृत भएको छ । यस्तै चिनारी सन्देश साप्ताहिक ‘ग’ वर्गमा वर्गीकृत भएको छ । यस्तै त्रैमासिक साहित्यिक पत्रिकाहरु हाम्रो मातृभूमि र अक्षय अक्षर ‘क’ वर्गमा वर्गीकृत भएको छ । मिसाइल पाक्षिक र लोकभावना त्रैमासिक पत्रिका ‘ख’ वर्गमा वर्गीकृत भएको छ ।
प्रेस काउन्सिलले देशभरका ८ सय ९४ वटा पत्रिका मध्ये ८ सय २६ वटा पत्रिकालाई क, ख, ग र घ वर्गमा वर्गीकरण गरेको छ । २०४ वटा पत्रिका ‘क’ वर्गमा रहँदा ४६२ वटा पत्रिका ‘ख’ वर्गमा, १५४ वटा पत्रिका ‘ग’ वर्गमा, ६ वटा पत्रिका ‘घ’ वर्गमा वर्गीकृत भएको छ । काउन्सिलले १८२ वटा दैनिक, ३ वटा अर्धसाप्ताहिक, ४७३ वटा साप्ताहिक, १२ वटा पाक्षिक, ७८ वटा मासिक, ४ वटा द्वैमासिक, ६ वटा त्रैमासिक, ५६ वटा साहित्यिक, १२ वटा विभिन्न भाषाभाषीको पत्रिका वर्गीकरणमा समेटिएको काउन्सिलले जनाएको छ ।
