हेटौंडाः नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला आज भर्चुअल माध्यमबाट भइरहेको छ । हेटौंडामा हुने भनिएको भेला कोरोना महामारी बढ्दै गएपछि हेटौंडामा हुन सकेन । भर्चुअल माध्यमबाट भएको भेलामा आउँदो फागुन ३ गते महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको एकसाथ निर्वाचन गर्ने प्रस्तावमा छलफल भइरहेको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले फागुन ३ गते तीनै तहको निर्वाचन गर्न प्रस्ताव गर्नुभएको हो । यस्तै महासंघका अध्यक्ष गोविन्द आचार्यले भदौ महिनामा जिल्ला तहमा सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता वितरण गर्ने, असोज मसान्तमा सबै प्रदेश समितिले जिल्लाको समग्र विवरण केन्द्रीय समितिलाई पठाउने प्रस्ताव गर्नु भएको छ ।

कात्तिकदेखि मंसिर मसान्तसम्ममा जिल्लाको साधारण सभा सम्पन्न गर्ने, पुस मसान्तसम्म सबै प्रदेशहरुको साधारणसभा सम्पन्न गर्ने, माघ ४ र ५ गते केन्द्रीय साधारण सभाको आयोजना गर्ने र २०७७ फागुन ३ गते जिल्ला, प्रदेश र संघ तीनवटै तहको निर्वाचन एकैसाथ आयोजना गर्ने प्रस्ताव गर्नुभएको नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभएको छ । महासंघको आज जारी राष्ट्रिय भेलामा ७७ जिल्लाका पत्रकार महासंघका अध्यक्ष, प्रदेश समिति, प्रतिष्ठान, पत्रकार उपत्यका समितिका अध्यक्ष, केन्द्रीय समितिगरी एक सय ५० जनाको सहभागिता रहेको छ ।