हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले कोरोना सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको छ । भदौ २ गते गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक अपिल जारी गर्नुहुँदै भदौ १२ गतेसम्मका लागि कडाई गरिएको जनाउनुभएको छ । ईन्द्रसरोवर गाउँपालिकाले परीक्षण बढाउन र कन्ट्याक्ट ट्रेसिङ कार्यलाई प्रभावकारी बनाउन अत्यावश्यक सेवाहरु बिहान ६ बजेदेखि ९ बजेभित्र र बेलुका ४ बजेदेखि ७ बजेभित्र उपलब्ध गराउन सम्पूर्ण व्यवसायी, जनप्रतिनिधी, ईन्द्रसरोवर गाउँबासीहरुलाई अनुरोध गरेको छ ।
गाउँपालिकाबाट अब अत्यावश्यक सेवा मात्र प्रवाह हुने भन्दै कसैलाई कोरोनाको शंका लागेमा नजिकैको स्वास्थ्य संस्थामा अथवा वडा कार्यालयमा सम्पर्क गर्न भनिएको छ । ईन्द्रसरोवर गाउँपालिकामा भदौ १२ गतेसम्म सभा, सम्मेलन, गोष्ठि, धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्न रोक लगाइएको छ । सरकारी, गैसस, निजी संस्था, विद्यालय, खेल मैदान, पुल हाउस, माछा बिक्रि केन्द्र सञ्चालन गर्नमा पनि रोक लगाएको छ । त्यस्तै अन्य स्थानीय तहहरुबाट आउन जिल्ला प्रशासन कार्यालयको पास अथावा गाउँपालिकाको अनुमति लिएर मात्र सवारी आउजाउ गर्न सकिने भएको छ ।
दमकल, एम्बुलेन्स, औषधी पसल, अनुमति प्राप्त सवारी साधन भने सञ्चालन गर्न पाइने गाउँपालिकाले जनाएको छ । त्यस्तै दुध डेरी, तरकारी पसल, फलफुल पसल, खाद्यान्न पसल, ग्याँस तथा डिपो लगायत अत्यावश्यक सेवा प्रवाह गर्ने बैंक भने सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने भएको छ ।