मकवानपुर जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनहूँ बढ्दो क्रममा छ । तर यसको तथ्याङ्कलाई व्यवस्थापन गर्न सकिएको पाइँदैन । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस जिल्लामा व्यापक भईरहँदा भाइरस सम्बन्धी तथ्याङ्क अभिलेखीकरणमा सम्बन्धित पक्षको ध्यान पुग्न सकेको छैन । सङ्कलन गरिएका नमूना, परीक्षणका लागि पठाइएको मिति, सङ्कलन गरिएको पटक जस्ता तथ्याङ्क व्यवस्थापनमा कमजोरी देखिएको छ । यसले व्यवस्थित उपचारमा समेत असर पुग्ने छ । प्रयोगशालामा परीक्षणका लागि पठाइएका नमूना, परीक्षण गरिएका मध्ये कोरोना सङ्क्रमण देखिएका नमूनाको सङ्ख्याको गणना स्पष्ट देखिँदैन । हेटौंडाको प्रयोगशालामा हेटौंडास्थित आइसोलेसन वार्डबाट मात्रै नभई थाहा नगरपालिका र मनहरी गाउँपालिकाले पनि आ–आफ्नै तरिकाले सिधै नमूना पठाउन थालेका छन् । यसको एकीकृत तथ्यांक राख्ने व्यास्था हुन नसक्दा अलमल देखिएको छ ।

कोभिडको अन्त्य छिटै नहुने कुरा विश्व स्वास्थ्य संगठनले नै भनिसकेको छ । त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि निश्चित योजना, कार्यक्रम र नीति आवश्यक छ । तर नेपालमा त्यस प्रकारको तयारी कुनै निकायले गरेको पाइँदैन । तत्कालका समस्या समाधान गर्न नै मुस्किल परेको छ । निश्चित निकाय र विज्ञहरुलाई यस सम्बन्धमा नीति र योजनाको जिम्मेवारी दिनु आवश्यक छ । कोभिडले पार्ने प्रभाव र न्यूनीकरणका योजनाहरु कार्यान्वयनका लागि तथ्याङ्कले महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले हाल भईरहेका कोभिड सम्बन्धी तथ्याङ्कहरुलाई व्यवस्थित अभिलेखीकरण आवश्यक छ । तर मकवानपुरमा यसको अभाव देखिएको छ । स्रोत र साधनहरूको समुचित उपयोग गर्दै भोलिका दिनमा कोभिड नियन्त्रण गर्न तथ्याङ्कहरुको विश्लेषण आवश्यक हुने भएकाले यसको उचित व्यवस्थापनको आवश्यकता छ ।

हेटौंडाको परीक्षण प्रयोगशालामा पनि नमूनाले पालो पर्खनुपर्ने अवस्था बनेको छ । मकवानपुरमा दैनिक सङ्क्रमण बढ्दै गएपछि उनीहरुको सम्पर्कका आधारमा नमूना सङ्कलनमै कठिनाई देखिएको छ । जसले गर्दा परीक्षणको पालो समेत तल–माथि पर्ने सम्भावना छ । यस्तै पहूँचवालाको परीक्षण छिटो र अन्यको लामो समयसम्म पनि परीक्षण रिपोर्ट नआउने केन्द्रीय परम्परा हेटौंडामा पनि देखिएको गुनासो छ । यसरी पालो मिच्दा पनि तथ्याङ्क अभिलेखमा समस्या हुन सक्छ । हालसम्म परीक्षण गरिएका नमूनामध्ये कतिवटा नमूना दोस्रो पटक हो ? अर्थात् सङ्क्रमण पाइएका व्यक्तिको हो ? भन्ने यकिन तथ्याङ्क छैन । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमातहत रहेको हेटौंडास्थित प्रयोगशालाका आधिकारिक व्यक्तिसँग तथ्याङ्कका लागि संवाद नै हुन सक्दैन भने जिल्लाभरको विवरण कसले दिने भन्ने यकिन जिम्मेवारी कसैले पाएकै छैनन् या दिइएकै छैन ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पनि जिल्लाभरको तथ्याङ्क व्यवस्थापनको काम नभएको स्वीकार गरेको छ । दैनिक रुपमा जिल्लामा कति स्वाब नमूना कुन–कुन पालिकाबाट सङ्कलन भयो ? सङ्कलित नमूना मध्ये कुन–कुन दिनमा परीक्षण भयो ? परीक्षण भएका, सङ्क्रमण पुष्टि भएका मध्ये महिला, पुरुष, उमेरगत विवरण, उनीहरुको यात्रा विवरण, सङ्क्रमणमुक्त भएकाको विवरण अद्यावधिक हुन सकेको छैन । कुनै पनि कामको मूल्याङ्कन त्यसको तथ्याङ्कका आधारमा हुने गर्दछ । जब अभिलेख उचित ढङ्गबाट गरिएको छैन भने नतिजा पनि सही हुन सक्दैन । कामको चुस्तताको प्रमाण अभिलेख नै हो । यसका लागि सम्बन्धित निकायले समयमै ध्यान दिन आवश्यक छ ।