पुरस्कार वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा शुक्रबार मोहनचन्द्र चौलागाई स्मृति रनिङ्शिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । हेटौँडा–१६ का वडाध्यक्ष एवम् उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद वास्ताकोटीको अध्यक्षता रहेको थियो ।

मोहनचन्द्र स्मृति प्रतिष्ठानको संरक्षकत्वमा नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाले हेटौँडा उपमहानगरपालिकास्तरीय रनिङ्शिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो । कार्यक्रममा हेटौँडा उपमहानगरभित्रका १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा छनौट चरणबाट १० वटा विद्यालयहरु दोस्रो चरणका लागि प्रवेश गरेका थिए । जसमा तुलसीमेहर ईङ्गलिस बोर्डिङ्ग स्कुल प्रथम, हेटौँडा एकेडेमी द्वितीय र ज्योति माविले तृतीय स्थान हासिल गरेका छन् ।

कार्यक्रमलाई जनप्रिय मावि अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले संयोजन गर्नुभएको थियो । जनप्रिय माविले आफ्नो स्वर्ण जयन्तिको अवसरमा अन्तर विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । बालविकास केन्द्र अन्तर्गत अभिभावकमैत्री भेटघाट र खेलकुदसहित विभिन्न रचनात्मक क्रियाकलाप पनि सम्पन्न गरेको छ । स्वर्ण जयन्ती सप्ताह अन्तर्गत मंसिर १३ गते बृहत रक्तदान कार्यक्रम र पूर्व विद्यार्थी पूनर्मिलन तथा पूनर्गठन कार्यक्रम रहेको स्वर्ण जयन्ती मूल समारोह समितिले जनाएको छ ।