हेटौँडा : व्यवसाय नवीकरणमा ढिलाई गरे व्यावसायिक संस्था नै खारेज हुने व्यवस्था गरेको विरोध जनाउँदै औषधी व्यवसायी आन्दोलित भएका छन् । संघीय सरकारले औषधी ऐन–२०३५ मा संशोधन गरेर औषधी पसल/फर्म दर्ता नवीकरण गर्ने म्याद सकिएको भोलिपल्टदेखि शतप्रतिशत जरिवाना तथा नवीकरण नगरिएको ३१औं दिनपछि औषधी पसल/फर्म स्वतः खारेज हुने व्यवस्था गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् ।
औषधि व्यवसायी संघले मंसिर २ गते औषधी व्यवस्था विभागका महानिर्देशकमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए । औषधी व्यवसायी संघसँगै नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ र नेपाल पशुपंक्षी औषधी व्यवसायी संघले पनि आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत औषधी व्यवसायीले आइतबार एक घण्टाका लागि औषधी पसल बन्द गर्ने जनाएको छ ।
औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठका अनुसार व्यवसाय नवीकरणमा ढिलाई हुँदा शतप्रतिशत जरिवाना र थप ढिलाई हुँदा व्यवसायको दर्ता नै खारेज हुने प्रावधान व्यवहारिक नभएको उल्लेख गर्नुभयो । सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि आन्दोलनका कार्यक्रम घोषणा गरिएको र आन्दोलन चरणबद्धरुपमा अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । केन्द्रले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा औषधी पसल बन्द रहने श्रेष्ठले जानकारी दिनुभएको छ ।











