हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकाले नयाँ सुविधा सम्पन्न भवन तयार भएको छ । बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन बुधबार उद्घाटन भएसँगै सेवा प्रवाह थालनी गरिएको छ ।
बुधबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको हो । बकैया गाउँपालिका–३, हात्तीसुँडेमा गाउँपालिकाको कार्यालय परिसरमै चार तले भवन निर्माण भएको हो । यसअघि बकैया गाउँपालिकाको कार्यालय ट्रष्टको भवनमा रहेको थियो । प्रमुख प्रशासकीय अधिकृतलाई आवासीय सुविधासहितको सो भवन बैठक कक्ष, पार्किङलगायतका सुविधा रहेका छन् । संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत बजेटमा नवनिर्मित भवनमा अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहितको २८ वटा कोठा, सभा हल २ वटा, सेवाग्राही कक्ष, भान्छाकोठा, स्टोर कक्ष, शौचालय लगायतका संरचना रहेका छन् ।
गाउँपालिकासँग भवन २०८१ असार १५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९ जेठ ३१ गते सम्झौता भएकोमा सो अवधिमा पूरा नभएपछि म्याद थप गरिएको थियो । गत भदौ ३१ गते निर्माण सम्पन्न हुनुपर्ने उक्त भवन निर्माणका लागि अभिवृद्धिकरसहित सात करोड ८२ लाख ५० हजार ७७० रुपैयाँमा सम्झौता भएको थियो । भवन निर्माणको काम बढेसँगै लागत बढेर मूल्य अभिवृद्धिकरसहित ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ ।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई सही प्रतिनिधि छान्ने मात्र नभई मन नलागे पार्टी वा उम्मेदवार बदल्नेसमेत स्वतन्त्रता दिएको बताउनुभयो । उहाँले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना स्थापित गरेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री बानियाँले गणतन्त्र र समावेशी संरचना देशभर लागू भइसके पनि यस व्यवस्थाको विकास–प्रगतिप्रति असन्तुष्ट केही समूह अहिले पनि सक्रिय रहेको टिप्पणी गर्नुभयो ।
‘गाउँमा विकास पुगेको, बाटो–पुल बनेको, सुविधा पुगेको मन नपर्नेहरु अझै पनि यो व्यवस्था उल्ट्याउने सोचमा छन् । तर यस्ता विषयहरु धेरै टिक्दैनन् । समयले त्यसलाई छोडेर जान्छ’, उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक व्यवस्थामा कमीकमजोरी देखिए सच्चिन सकिन्छ । गल्ती गर्नेलाई कानुनअनुसार दण्डित गर्न सकिन्छ र राज्य प्रणालीलाई सुधार्दै लैजान सकिन्छ ।’ कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षा, लगायतका विकास–निर्माण क्षेत्रमा धेरै लगानी गरेको जानकारी दिनुभयो । बकैया गाउँपालिकामा पूर्वाधारका हिसाबले पनि मकवानपुरका अन्य स्थानीय तहभन्दा कम नभएको उहाँले दावी गर्नुभयो ।
‘धेरै नागरिकलाई ‘बच्चा पढाउन गाह्रो’, ‘घर चलाउन कठिन’ भन्ने समस्या थियो । त्यो समस्यालाई कम गर्न गाउँपालिकाले नयाँ अवसरहरु सिर्जना गरेको छ । अहिले धेरैले रक्सी पसल छोडेर कृषिमा लागेका छन् । विदेश जाने तयारीमा रहेका युवाहरु अहिले ५–१० वटा गाई पालेर गाउँमै राम्रो आम्दानी हुनसक्ने देखेर यही काममा लाग्न थालेका छन् । यसले गाउँको आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पारिरहेको छ’, उहाँले भन्नुभयो ।











