हेटौँडा–१८ स्थित मकवानपुर बालविद्या सदनका पूर्वप्राथमिक तहका नानीहरू बेन्च या कुर्सीमा बसेर शिक्षकले पढाएका कुरा सुन्ने मात्र काम गरिरहेका छैनन् । एउटा सानो समूह पिठोको डल्लाबाट सङ्ख्या लेखिरहेका छन् । अर्को समूह सफा र नरम ढुङ्गाका टुक्रा टिप्दै अक्षर बनाउँदै छन् । त्यस्तै कोही ब्लकबाट सिर्जनात्मक डिजाइन गर्नमा व्यस्त छन् त कोही डोरी उन्ने चुनौतीमा रमाइरहेका छन् । एउटा समूह ध्वनिमा आधारित बालपुस्तक पढ्दै गरेको देखिन्छ भने अर्को सानो समूह शिक्षकसँगै एउटा कुनोमा बसेर लेखन अभ्यास गर्दै छन् ।
शिक्षकले कक्षाको अगाडि उभिएर जोडतोडले व्याख्यान विधिमा पढाइरहेका छैनन् । समूह–समूहमा बालबालिकालाई सघाइरहेका छन् । प्रश्न गरिरहेका छन् । बालविकासलाई ध्यानमा राखी बालबालिकाका लागि अवसर सिर्जना गर्नमा व्यस्त छन् । हरेक दिन कक्षाभित्र देखिने एउटा प्रतिनिधि दृश्य हो यो । दिनैपिच्छे क्रियाकलाप भने फरक हुन्छन् । सबै क्रियाकलापमा समान सहभागिता सुनिश्चित गरिएको हुन्छ । झट्ट हेर्दा लाग्छ नानीहरू खेलिरहेका मात्र छन् तर उनीहरू साँचो अर्थमा सिकिरहेका छन् । उनीहरू पढाइको दबाब र चपेटामा त कत्ति पनि छैनन् । खेल्दै रमाउँदै पढ्दै सिकिरहेका छन् । यो नवोदय इनोवेशन सेन्टरसँग सहकार्य गर्दै गर्दा विकास हुने सिकाइ संस्कृतिको एक झलक हो ।

के शिक्षण सिकाइलाई अझै रमाइलो, समावेशी र प्रभावकारी बनाउन सकिँदैन ? अनि, राम्ररी पढ्न नसक्ने र माथिल्लो कक्षामा पुगेर पनि अक्षर चिन्न समस्या भोगिरहेका बालबालिकालाई किताब पढ्न सक्ने बनाउनु जरुरी छैन ? विषयगत रूपमा शिक्षक, विद्यार्थी र विद्यालयका नेतृत्वले भोगिरहेका समस्याहरू समाधान गर्नु पर्दैन ? सुन्दा सरल लाग्ने तर अर्थमा गम्भीर लाग्ने यी र यस्तै प्रश्नहरूका जवाफ खोज्दै गर्दा नवोदय इनोवेशन सेन्टरको अवधारणाले मूर्तरूप लिएको हो ।
विद्यालय शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हेटौँडा, कमलडाँडास्थित नवोदय शिशु सदनमा भएका उत्कृष्ट अभ्यासका मोडललाई अन्य विद्यालयमा पनि अभ्यास गर्न–गराउन सहजीकरणको माग भइरहेकै थियो । तर, मागबमोजिम काम हुन सकिरहेको थिएन । शैक्षिक क्रान्तिको यात्रा आरम्भ गर्ने विचारको गर्भाशयमा भने सपना अङ्कुरण भइसकेको थियो । विद्यालयहरूको आवश्यकता र परिवेश अनुसार अभ्यासमा लैजान गरिएको माग र त्यसो गर्न सम्भव भएको सत्यलाई आत्मसात गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने छलफलको निष्कर्ष हो नवोदय इनोवेशन सेन्टर । नवोदय शिशु सदनलाई आधार स्कूल मानेर यसको सुरुवात भएको हो । यस विद्यालयमा हाल नियमितजस्तो शिक्षाकर्मीहरूको अध्ययन अवलोकन भ्रमण हुने गरेको छ ।
बालकेन्द्रित शिक्षालाई विद्यालयको सिकाइ वातावरणमा एकीकृत गर्ने अग्रणी उत्प्रेरक बन्ने उद्देश्यसहित नवोदय इनोवेशन सेन्टरको स्थापना भएको हो । सेन्टरको मूल दृष्टि विद्यालय शिक्षाको परिदृश्यमा क्रान्ति ल्याउने हो । प्रत्येक शैक्षिक संस्थालाई आवश्यक उपकरण, ज्ञान र सहयोग प्रदान गरेर बालकेन्द्रित सिकाइ दृष्टिकोणलाई सशक्त बनाउने अभिलाशा राखेर यसले काम गरिरहेको छ । यसो गर्दा बालबालिकालाई भविष्यका चुनौती र अवसरहरूको सामना गर्न तयार पार्नेछ भन्ने विश्वास लिइएको छ ।

नवोदय इनोवेशन सेन्टर शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति हेटौँडामा स्थापना भएको एक तालिम प्रदायक शैक्षिक संस्था हो । यसले नेपालको शैक्षिक विकासमा सहयोग पु¥याउनका लागि शिक्षक तालिमका प्याकेज र शैक्षिक परामर्शलगायत बालबालिकाका लागि आवश्यक एवम् उपयुक्त सिर्जनात्मक कार्यशाला सञ्चालन गर्दछ । शिक्षणसिकाइका लागि परामर्श सेवा प्रदान गर्ने, प्रविधिमा आधारित भएर समस्या समाधान गर्ने र शिक्षकहरूसँगको सहकार्यमार्फत परम्परागत शिक्षण पद्दतिलाई रूपान्तरण गर्ने उद्देश्यले सेन्टर स्थापना भएको हो । गहिरो दृष्टिकोणयुक्त नवप्रवर्तनशील सिकाइ सामग्री प्रकाशित गरेर, उत्साही सक्षम शिक्षकहरूको समुदाय निर्माण गर्दै प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षामा पहुँच पाऊन् भन्ने भावना बोकेर सिर्जनशीलता, समालोचनात्मक सोच र खोज–अन्वेषणको आनन्द विकास गर्नु यसको अर्को उद्देश्य हो । नेपालमा शिक्षाको सन्दर्भमा भन्नुपर्दा अहिले पनि प्राचीन कालदेखि चल्दै आएको व्याख्यान विधि नै बढी प्रयोगमा आइरहेको पाइन्छ । त्यसैले नवोदय इनोवेशन सेन्टरले अन्तरक्रियात्मक, प्रयोगात्मक र सिर्जनात्मक विधि अपनाएर सकारात्मक परिवर्तन ल्याउने क्षमता विकास गर्नमा बढी जोड दिई कार्यक्रम सञ्चालन गर्दछ ।
स्थापनाको छोटो अवधिमै यस संस्थाले हासिल गरेको प्रगति उल्लेखनीय छ । दुई वर्षमै सहकर्मी विद्यालयको संख्या १३ बाट ३२ पुगेको छ । हेटौँडा आसपासका विद्यालयहरूका साथै उत्कृष्टतासहित पहिचान हासिल गरिरहेका विद्यालयहरूसमेत सहकार्यमा जोडिनु सेन्टरको कर्म र समर्पणप्रतिको विश्वास हो ।
शिक्षक तालिममा गरिएको लगानी खेर गयो, तालिममा सिकाइएका कुरा कक्षामा पुग्न नपाउँदै सकियो । तालिम किन चलाउने ? भन्ने बहस चलिरहेको सन्दर्भमा नवोदय इनोवेशन सेन्टरले निरीक्षण र निगरानीको संयन्त्रलाई अनिवार्य र प्रभावकारी बनाउँदै नतिजामुखी परामर्श सेवा अगाडि सारेको हो । यसमा निश्चित र लक्षित उद्देश्य तोकिएको समय अवधिमा तथ्य र तथ्याङ्कमा आधारित परिणाम हासिल हुने कुरा सुनिश्चित गरेर काम गरिरहेको छ । हाल हासिल भइरहेको परिणाम र उपलब्धिले थप उत्साह प्रदान गरिरहेको छ ।

हामीले गरिरहेको मूल्याङ्कनको तथ्याङ्कले देखाएअनुसार कम्तीमा पनि २० देखि ४० प्रतिशत बालबालिकालाई अक्षर चिन्न, खरर्र पढ्न, बोध गर्न र पढाइमा अब्बल हुन केही न केही कारक तत्वले बञ्चित गराइरहेको छ । यो अवस्थाबाट पार पाउनका लागि पठन संस्कृति विकास कार्यक्रम लागु गरिरहेका छौँ । अक्षर चिन्न चुनौती भएका तर माथिल्लो कक्षामा स्तरोन्नति भएका बालबालिकाको पीडामा मल्हम लगाउन पाउँदा र अक्षर चिन्नेको कथा सुनाउन पाउँदा चरम आनन्द प्राप्त हुन्छ । कक्षामा सुन्न पाइन्छ, ‘पढ्यो भने त आउने रहेछ नि ।’ कक्षामा भएको किताब कुनोबाट किताब छानेर यो ‘किताब मेरो लागि हो, यो किताब साथीका लागि हो’ भनेर कक्षा यूकेजीदेखि नै जानकार भएको बालबालिकाको मुस्कानले लामो सास फेर्न र टक्क अडिएर सोच्न बाध्य गराउँछ । के सबै बालबालिकाले यस्तै अवसर पाउनु पर्दैन ? भन्ने प्रश्नका साथ ।
पढ्दा रमाइला लाग्ने पुस्तकहरूले स्कूलमा प्रवेश पाउन थाले । पुस्तकका लागि छुट्टै घर अर्थात् पुस्तकालय बनेर नियमित रुटिनमा पुस्तक पढ्ने कक्षा सञ्चालन हुनथाल्यो । पुस्तकालयबाट घरघरमा पुस्तक लैजान पाइने भयो । एक जना विद्यार्थीले वर्षभरिमा सैयौँ किताब पढेको रेकर्ड स्कूलमा छ । सिर्जनात्मक लेखनमा बालबाबालिका सिपालु भएका छन् । यस्ता कैयन् प्रसङ्ग स्कूलमा पुग्दा सुन्न पाइन्छ ।
सिर्जनात्मक लेखन कार्यशालामार्फत् किताब लेखेर लेखकको रूपमा प्रस्तुति दिइरहेका नानीबाबुको प्रस्तुति हेरेर अभिभावकको गहभरि खुसीको आँसु टिल्पिलाएको दृश्य आजै देखेजस्तो लाग्छ । हातहातमा किताब बोकेर स्कूलभरिका सबैजना पढिरहेको दृश्य हेर्न पाउँदा कस्को मन आल्हादित हुन्न होला र । ‘अचेलका केटाकेटी पढ्दैनन्’ भन्ने भाष्य निर्माण भइरहेको परिप्रेक्ष्य छ । यस्तोमा ‘पुस्तकालयका सबै किताब पढिसक्यौँ अब हामीलाई नयाँ किताब ल्याइदिनूस्’ भनेर माग राख्ने केटाकेटी पाउनु कत्तिको खुसीलाग्दो कुरा होला ? अनुमानभन्दा परको कुरा लाग्न सक्छ तर यो सत्य हो ।
पूर्वप्राथमिक तहमा काम गर्ने शिक्षकलाई मज्जा अनुभूति हुन्छ कि हुँदैन होला ? साना नानीबाबुलाई विद्यालय जाऔँ जाऔँ लाग्छ नि लाग्दैन होला ? प्रत्येक नानीको सर्वाङ्गीण विकासका लागि विद्यालयले या शिक्षकले योजना बनाएको हुन्छ कि हुँदैन होला ? कतिपय अवस्थामा अनुत्तरित नै रहने यी र यस्तै प्रश्नका रचनात्मक एवम् प्रभावकारी जवाफ यसै लेखको सुरुमा उल्लेख गरिएको झलकले पनि दिन्छ । विद्यालय शिक्षाको जरा मानिने पूर्वप्राथमिक तहलाई अब्बल बनाउने यात्रा पनि जारी छ ।

गणित सिकाइमा आम भोगाइ त्यति सुन्दर छैन भन्दा अति नहोला । माथिल्लो कक्षामा पुगिसकेका बालबालिकालाई कक्षा ४ तिरै सिकिसक्नुपर्ने गणितीय धारणा प्रष्ट नहुँदा समस्या परिरहेको यथार्थ हाम्रोसामु छ, विशेषगरी गणित शिक्षकलाई परेको मर्का पनि हो यो । यसको समाधान हो, रमाउँदै खेल्दै गणित सिकाइ । कक्षा ४ र ५ का नानीबाबुसँग ‘यो किताब हटाइदिन्छु नि’ भनेर कुरा गर्दा सुनेको छु, ‘यो किताब चाहिँ हटाए पनि केही छैन तर खेल, गीत र रमाइलो चाहिँ नहटाइदिनूस् है ।’ अनि गणितको धारणा बुझे–नबुझेको सन्दर्भमा नमूना परीक्षा लिँदा बालबालिकाको सिकाइस्तर बृद्धि भएको पाइएको छ । क्रियाकलापमा आधारित गणित शिक्षणसिकाइ कार्यक्रमको यात्रा विशेष भइरहेको छ ।
विद्यालयको व्यवस्थापन परामर्शमा पनि काम गरिरहेका छौँ । संस्थापक, प्रिन्सिपल र नेतृत्वका लागि आवश्यकता अनुसार तालिम, कार्यशाला, योजना परामर्शलगायतका कार्यमा सहजीकरण गर्दै विद्यालय सञ्चालनको प्रभावकारी संस्कृति विकासमा उल्लेख्य टेवा पु¥याउने गरी काम भइरहेको छ ।
विद्यालयहरूमा एउटा प्रमुख चुनौती छ, शिक्षक नपाउनु वा सक्षम शिक्षक नपाउनु । यसै कुरालाई मध्यनजर गर्दै १ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गर्दै आएकोमा हाल शिक्षक विकासको नयाँ मोडेल अन्तर्गत कक्षा ११ मा शिक्षाशास्त्र सङ्कायको पठनपाठन प्रारम्भ गरिएको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा सञ्चालन हुने, नवोदय शिशु सदनमा शिक्षणसिकाइको अभ्यास गर्ने र नवोदय इनोवेशन सेन्टरले शिक्षणसिकाइ, व्यवस्थापन र आवश्यक प्राविधिक सहजीकरण गर्ने गरी कक्षा सञ्चालनमा आएको हो ।
मकवानपुरगढीबाट बिहानै कक्षा ११ मा अध्ययनका लागि आउने विश्वराज घलान भन्छन्, ‘शिक्षकको सहयोगले गर्दा पढ्नमा मन आकर्षित भएको छ । शिक्षणसिकाइको लक्ष्यप्रति दृढ बनाएको छ, परिश्रमी, मिहिनेती र आत्मनिर्भर बन्न सघाएको छ । अझ सबै विद्यार्थीले निःशुल्क पढ्न पाउनु धेरै महत्वपूर्ण कुरा हो । शुल्कको कुनै चिन्ता नलिई ज्ञान र सीप हासिल गर्न पाउनु ठूलो मौका हो । खुसी लाग्छ र गर्व गर्छु, शिक्षण पेशा अँगालेर सपना पूरा गर्न चाहनेका लागि यो मूल्यवान अवसर हो ।’
विभिन्न सरकारी एवम् गैरसरकारी संघसंस्था, शिक्षा क्षेत्रमा योगदान गरिरहनुभएका संस्था एवम् व्यक्ति सबैसँग सहकार्य गरेर शैक्षिक क्षेत्रका लागि केही उल्लेख्य, प्रभावकारी र नतिजामुखी काम गरौँ भन्ने भावना र मनसाय बोकेर सहकार्यका लागि तयार छन् हाम्रा हातहरू । आजसम्म प्राप्त उपलब्धि र स्कूलको सिकाइ संस्कृति विकासमा परेको प्रभावका आधारमा आगामी योजना बनाएर अघि बढ्दै छौँ ।
यात्रामा आइपरेका चुनौती सामना गर्दै भविष्यको बाटो खनिरहेको नवोदय इनोवेशन सेन्टरको सिङ्गो टिम सिकाइमा क्रान्ति ल्याउनका लागि प्रतिबद्ध छ ।
(लेखक नवोदय इनोवेशन सेन्टरमा कार्यरत छन् ।)











