पंचायती शासनकालमा राजा, पंचायत र व्यवस्थाको गुणगान गाउनु बाहेक सर्वसाधारण नागरिकलाई बोल्ने, लेख्ने र अभिव्यक्ति दिने स्वतन्त्रता थिएन । लेख्ने, छाप्ने प्रेस सरकारी वा सरकारको नियन्त्रणमा थियो । आफ्नो मनमा लागेको कुरा बोलेर, लेखेर, छापेर अभिव्यक्त गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो । अन्याय, अत्याचारको विरोध गर्ने, शासनसत्तामा बस्नेहरुको आलोचना गर्ने कुरा निरंकुश पंचायती शासनकालमा पूर्णरुपमा बन्देज लगाइएको थियो ।
विकासको गतिमा अगाडि बढिरहेको बीसौं शताव्दीको हेटौँडामा २०२४÷२५ सालतिर सरकारले नै नारायणी अंचल सभा प्रेसको स्थापना ग¥यो । त्यो प्रेसबाट राजा, व्यवस्था र पंचायतको गुणगान गाउने सरकारी कागजातको छपाई गर्ने, पंचायतईतरको विषय वस्तुलाई लिएर निस्तेज र निरुत्साहित गर्ने उद्देश्यले रामराजा राणाको निर्देशन र व्यवस्थापन तथा कवि, साहित्यकार भीम विरागको सम्पादनमा नारायणी साप्ताहिक प्रकाशन भएको थियो ।
२०२४÷२५ सालमा साथी निलमणि नेपाल, केशव श्रेष्ठ र मेरो संयुक्त सम्पादनमा ‘अचार’ नामको व्यङ्ग्य साहित्यिक पत्रिकाको प्रकाशन नारायणी प्रेसबाटै ग¥यौं । अचारको स्वादमा गुलियो, अमिलो, नुनिलो, पिरो, टर्रो, तितो आदिको स्वादमा विविध व्यङ्ग्यहरु संकलन गरी ३ अंक प्रकाशन गरेपछि यसमा प्रकाशित सामग्रीहरु तात्कालिन पंचायती सरकारलाई पचेन । चौथो अंक प्रकाशन गर्न प्रेसमा बुझाउँदा पत्रिका प्रकाशन गर्न, छाप्न रोक लगाएको जानकारी दिइयो ।
बुद्धिजिवी, राजनीतिक चेत भएका र शासन सत्ताबाट सताइएका जनताहरुमा एक प्रकारको उकुस–मुकुस थियो । २०३६ सालमा बहुदलीय पंचायत र सुधारिएको पंचायतको जनमत संग्रहपछि हामी केही युवाहरुको साथ र सहयोगमा एउटा प्रेस स्थापना गर्ने र पत्रिका प्रकाशन गर्ने उद्देश्य लिएर तात्कालिन जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीलाई हामी व्यवस्था बिरोधी होइनौं भनेर आश्वस्त पारेर प्रेस चलाउने र पत्रिका निकाल्ने स्वीकृति लियौं । केशव श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठको संयुक्त प्रकाशन र सम्पादनमा ‘कुराकानी’ साप्ताहिकको आफ्नै छापाखाना प्रालिबाट प्रकाशनको शुभारम्भ भयो । अलि उदार स्वभावका युवा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद पौडेलले पत्रिका प्रकाशन भएको केही हप्तापछिसम्म पनि बेला–बेलामा झक्झकाउने गरी नै रह्यो । युवा जोस जाँगर भएका राजनीतिक चेत र प्रखर बुद्धिजिवी केशव श्रेष्ठले निकै मिहिनेत र चलाखीका साथ पत्रिका प्रकाशन गर्न थाल्यो । त्यतिबेला कुनै निकायबाट पनि सूचना प्राप्त हुन्थेन । काठमाडौंबाट राजनीतिज्ञ तथा बाल साहित्यकार बुद्धिजिवी शान्तदाश मानन्धरले त्यतातिरको सूचना र समाचारहरु पठाउन तात्कालिन समयका नाम चलेका पत्रकार, लेखक र साहित्यकारहरुबाट नियमित रुपमा समाचार र लेखकहरु आउने चाँजोबाजो मिलाउनु भयो ।
त्यतिबेला कुराकानीलाई नियमित सहयोग गर्नेहरुमा रघुजी पन्त, शारदा रमण उपाध्याय, श्यामप्रसाद शर्मा, जनक हुमागाईहरु हुनुहुन्थ्यो । यसरी नै पोखरा, लमजुङ, बाग्लुङ, धरान, विराटनगर र भद्रपुर झापामा समेत सम्पर्क सूत्र जोडिएको थियो । हरेक बुधबार प्रकाशन हुने पत्रिकालाई मंगलबार बेलुकी काठमाडौंको प्रमुख समाचारहरु आइपुग्थ्यो । रातरातै उक्त पत्रिकालाई छापेर बुधबार बिहान जसरी पनि निकाल्थ्यौ र उपत्यका लगायत पूर्वमा झापा र पश्चिममा बाग्लुङसम्म पठाउथ्यौं । दुई रुपैयाँमा बिक्री हुने पत्रिका त्यतिबेला राम्रै बिक्री हुन्थ्यो । हामी बेला–बेलामा घुम्ने बहानामा बिक्रीको पैसा पनि संकलन गरेर ल्याउँथ्यौ । कुराकानी पत्रिकालाई त्यतिखेर सबैतिर रुचाइन्थ्यो । धरानबाट निस्कने ‘ब्लास्ट’ नामको पत्रिकाले त कुराकानी पत्रिकाकै प्रेरणाले ‘ब्लास्ट’ लाई निकालेको भन्नुहुन्थ्यो । अहिले जस्तो विज्ञापन उपलब्ध नहुने तात्कालिन समयमा आर्थिक रुपले नियमित रुपल प्रकाशन गर्न साह्रो गाह्रो त थियो नै अर्कोतिर प्रशासक र गुप्तचरहरुको निरन्तर निगरानी र चुनौती थियो ।
पंचायतईतरका सानोतिनो समाचार छाप्दा पनि मुद्दा खेप्नु पर्दथ्यो । एकपटक अंचल न्यायपालिका भवन निर्माणमा अनियमितता भएको खबर बाग्लुङबाट आएको छापेपछि बाग्लुङ अंचल न्यायपालिकाले नै मुद्दा हालेर सम्पादकद्वयलाई नै पटक–पटक बाग्लुङमा धाउनुपर्ने बनायो । त्यतिबेला बाग्लुङ पुग्ने मोटरबाटो थिएन, हिँडेरै जानु पर्दथ्यो । केही समयपछि अंचल न्यायाधीशको बिरुद्ध मानहानीमा केही रुपैयाँ जरिवाना र १ दिनको कैद बाग्लुङमा ग¥यो । लोकतन्त्रको बहालीपूर्वसम्म कुराकानी साप्ताहिकले सामाजिक रुपमा जनस्तरमा समेत प्रतिष्ठा बनाए पनि प्रशासनिक निगरानी र पत्रिका र मानहानी बिरुद्ध केही मुद्दाहरु झेलिरहनु प¥यो ।
माओवादी जनयुद्धको समयमा त सेना र माओवादी दुवैबाट पत्रिका र प्रेस दुबैलाई तनाव र संकटमा पारेको थियो । नेपाली सेनाका जवानहरु प्रेस भित्र सहजै पसेर निगरानी गर्ने, बेला–बेलामा व्यारेकमा समेत बोलाएर चेतावनी स्वरुप सतर्कता अपनाउन सुझाउने, अर्कोतिर माओवादीहरु रात विरात प्रेसमा आएर पर्चा, पम्प्लेट आदी छपाउन लगाउने, कहिलेकाहीँ खाना समेत पकाएर खुवाउनुपर्ने हुन्थ्यो । पर्चा, पम्प्लेट छपाई सकेपछि प्लेट बालेर नष्ट गर्नुपर्ने प्रशासन र सेनाबाट लुकाउन हप्तौंसम्म सुत्ने खाट मुनि नदेख्ने, नखोज्ने ठाउँ खोजेर राख्नुपर्ने हुन्थ्यो । यी कुराहरुले हामी प्रेस र पत्रिकामा काम गर्ने सबैले आर्थिक र मानसिक तनाव बोकिरहनु पर्ने हुन्थ्यो ।
लोकतन्त्रको बहालीपछि यसका सम्पादकद्वयमध्ये केशव श्रेष्ठले हेटौँडा छोड्नु भयो । तत्पश्चात सम्पादनको जिम्मेवारी निएर प्रताप बिष्ट, सञ्जय साह, खेम बोलखे, दीपक अधिकारी र गिरीजा अधिकारी मित्रहरुले २०५६ सालसम्म कुराकानीलाई निरन्तरता दिनुभयो ।











