हेटौँडा : हेटौँडा–१३, वनस्पतीस्थित युगचेतना माध्यमिक विद्यालयको अध्यक्षमा बसन्तकुमार लामा निर्वाचित हुनुभएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठकले लामालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । यसअघि गत भदौ २१ गते सम्पन्न अभिभावक भेलामा ४ जना सदस्य पदका लागि १८ जना आकांक्षी भएपछि व्यवस्थापन चयन हुन सकेको थिएन ।
शुक्रबार बिहान आकांक्षीहरु बीच सहमति गर्दै सदस्यमा नीरबहादुर भ्लोन, बीरबहादुर स्याङ्तान, शर्मिला घिमिरे र फूलमाया स्याङ्तान चयन हुनुभएको थियो । अभिभावकबाट सदस्य चयन भएपछि विद्यालय व्यवस्थापन समितिले बसन्त कुमार लामा र इन्द्रमाया परियारलाई सदस्यमा मनोनित गरेको विद्यालयका प्रधानाध्यापक शंकर थिङले जानकारी दिनुभयो ।
यसै वर्षदेखि १० कक्षासम्म पठनपाठन हुन लागेको विद्यालयमा ३ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । पहिलो वर्षको एसईईमा २९ जना विद्यार्थी सहभागी हुने प्रधानाध्यापक थिङले जानकारी दिनुभयो । विद्यालयको तह वृद्धि, विद्यार्थीको संख्या वृद्धि गर्न सफल भएको प्रधानाध्यापक थिङले बताउनुभएको छ ।
