हेटौँडा : बागमती प्रदेशमा नसर्ने रोगको चुनौती बढ्दो क्रममा रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ग्यास्ट्राइटिसका बिरामीहरु बढीरहेका छन् भने उच्च रक्तचाप दोस्रो स्थानमा हरेको छ । गत आर्थिक २०८०/०८१ वर्षमा उच्च रक्तचापका बिरामी आठौं स्थानमा रहेको थियो ।
ज्वरो सम्बन्धी समस्याका बिरामीको चाप तेस्रो, मधुमेहका बिरामी चौंथो, टाउको दुखाई, मुत्रथैलीको संक्रमण, खोकी, रिफ्राएक्टिभ केश, ब्याक पेन, दाँतको समस्या क्रमशः स्थानहरुमा रहेका छन् ।
गत आर्थिक वर्ष २०८१-०८२ मा उच्च रक्तचापका कुल ४ लाख ३० हजार ४ जना बिरामी रहेको तथ्यांक रहेको छ भने मधुमेहका २ लाख ४५ हजार ५९८ र क्यान्सरका ८५ हजार ४१२ बिरामी पहिचान भएका छन् । सो अवधिमा क्यान्सरका कारण सबैभन्दा बढी १ हजार १४ जनाको मृत्यु भएको छ भने मधुमेहबाट ४५८ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा मानसिक स्वास्थ्य समस्या पनि गम्भीर रुपमा देखिएको छ । कुल ४ हजार ६०३ जनाको स्क्रिनिङ गर्दा चिन्ताका ३ हजार १३५ र आत्महत्याको सोच÷प्रयासका ९१ केसहरु भेटिएका छन् । सो अवधिमा ३६१ जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ ।
खोप कार्यक्रम लक्ष्यभन्दा धेरै पछाडि
निर्देशनालयको तथ्यांक अनुुसार बागमती प्रदेशमा खोप कार्यक्रमको लक्ष्य भेटाउन मुीकल देखिएको छ । बागमती प्रदेशमा पूर्ण खोपको कभरेज ७९.६ प्रतिशत मात्र रहेको छ । हाल ९५ प्रतिशत भन्दा बढी हुनुपर्ने राष्ट्रिय लक्ष्यभन्दा निकै कम हो ।
बीसीजी, डीपीटी, हेपबी, हिब–३, र एमआर–२ जस्ता महत्वपूर्ण खोपहरूको कभरेज पनि लक्ष्य अनुरुप छैन । विगत ३ आर्थिक वर्षको तथ्यांक अनुसार बागमती प्रदेशका ल्क्ष्य अनुसार खोप कार्यक्रमको उपलब्धी प्राप्त हुन सकेको छैन । आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत खोप कभरेज भएको बागमतीमा आर्थिक वर्ष २०८०/०८१ मा ९५.८ प्रतिशत र आर्थिक वर्ष २०८१/०८२ मा ७९.६ प्रतिशत लक्ष्य हासिल गरेको देखिन्छ ।
खोप कार्यक्रमलाई जनस्वास्थ्यको सबैभन्दा सफल मानिए पनि बागमती प्रदेशको उपलब्धी निराशाजनक रहेको हो । काभ्रेमा १०५ प्रतिशत, ललितपुर ९३ प्रतिशत खोपको उपलब्धी देखिएपनि काठमाडौं ६८ प्रतिशत सिन्धुलीमा ९० प्रतिशत रहेको छ ।
यसका साथै, खोप खेर जाने दर पनि उच्च देखिएको छ । बीसीजी खोपको खेर जाने दर राष्ट्रिय मापदण्ड ५० प्रतिशत भए तापनि अधिकांश जिल्लामा ७० प्रतिशत भन्दा माथि रहेको छ । जसले खोप व्यवस्थापनमा ठूलो चुनौती रहेको देखिन्छ । खोपको पहिलो र अन्तिम मात्रा लगाउने बीचको छाड्ने दर पनि केही जिल्लाहरुमा लक्ष्यभन्दा १० प्रतिशत बढी देखिएको छ ।
खोपको भण्डारण, वितरण र व्यवस्थापनमा कमजोरी रहँदा खोप खेर जाने दर उच्च रहेको निर्देशनालयले जनाएको छ । सोही कारणले खोपको पहिलो मात्रा र अन्तिम मात्रा बीचको छाड्ने दर चितवनमा –१७.२६ प्रतिशत र ललितपुरमा २१.९५ प्रतिशत रहेको छ ।
