Home मुख्य समाचार सामुदायिक आँखा अस्पताल १८औं वर्षमा, ९ लाख १३ हजारले सेवा लिए

सामुदायिक आँखा अस्पताल १८औं वर्षमा, ९ लाख १३ हजारले सेवा लिए

हेटौँडा सामुदायिक आँखा अस्पतालको वार्षिकोत्सव मनाइँदै ।

हेटौँडा : हेटौँडा–१० स्थित हेटौँडा सामुदायिक आँखा अस्पताल स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले वरिष्ठ नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा बिहीबार अस्पताल परिसरमै वार्षिकोत्सव मनाइएको हो । तिलगंगा आँखा प्रतिष्ठानले उपत्यका बाहिरकै पहिलो आँखा अस्पतालको रुपमा स्थापना गरेको हेटौँडा सामुदायिक आँखा अस्पताल २०६५ साल मंसिर ४ गते नेपालका लागि तत्कालिन अष्ट्रेलियन राजदूत ग्राहम लेडले उद्घाटन गर्नुभएको थियो ।

अस्पतालमा हालसम्म ९ लाख १३ हजार २ सय २३ जनाले आँखा जाँच गराइसकेका छन् । यस्तै ६२ हजार ३ सय ५४ जनाको आँखा शल्यक्रिया गरिएको छ । अस्पतालबाट २३ हजार १ सय ३३ जनाले निशुल्क मोतिबिन्दुको शल्यक्रिया सेवा लिएको छ । हाल ३ जना नेत्र स्वास्थ्य विशेषज्ञसहित सञ्चालन भइरहेको अस्पतालले वार्षिक ५० वटा सामान्य आँखाको स्वास्थ्यजाँच शिविर सञ्चालन गर्दै आइरहेको प्रशासन प्रमुख सुधीर श्रेष्ठले जानकारी दिनुभयो । यस्ता शिविरहरु को आयोजना गर्दै वार्षिक छ हजार आँखाका बिरामीहरुको शल्यक्रिया गर्ने गरेकोमा करिब आधा बिरामी मोतिविन्न्दुका रहेको पनि उहाँले जानकारी दिनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठानले हेटौँडामा आँखा अस्पताल स्थापना गरेपछि भक्तपुर र निजगढमा पनि अस्पताल स्थापना र सञ्चालन गर्दै आइरहेपनि हेटौँडा अस्पताललाई बिरामीको चापको हिसाबले महत्वपूर्ण मानिने गरेको प्रशासन प्रमुख सुधीर श्रेष्ठले बताउनुभयो । अस्पतालले हाल यस जिल्लाबाहेक बारा, पर्सा, रौतहट, सर्लाही, चितवन, महोत्तरी लगायत केही भारतीयहरु समेतले सेवा प्राप्त गरिरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालले मकवानपुरको मनहरी, बागमती, थाहा नगरपालिका, इन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिका र बकैया गाउँपालिकामा समोत स्थानीय तहसँगको समन्वयमा आँखा परीक्षण केन्द्रहरू सञ्चालन गरिरहेको छ ।

जिल्लाका स्थानीय पालिकाका विकट क्षेत्रका बासिन्दाले घरपायक सेवा समेत पाएका छन् । हाल यस अस्पतालले आँखा जाँचका साथै आँखाको स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । जसमा महिला स्वयंसेविका, विद्यालयका शिक्षकलाई आँखा बचावट बारे चेतनामुलक तालिम दिने गरिएको छ ।

Exit mobile version