हेटौंडाः सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी श्रोत केन्द्र मकवानपुरले चालु आर्थिक वर्ष २०८२/०८३ मा वैदेशिक रोजगारीका लागि २ हजारभन्दा बढीले परामर्श सेवा लिएको जनाएको छ । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीसम्बन्धी ५६ वटा मुद्दा दर्ता भएको केन्द्रका सूचना तथा परामर्शकर्ता पार्वती विश्वकर्माले जानकारी दिनुभयो ।
साउन महिनायता हालसम्म २ हजार ४ सय ८३ जनाले आप्रवासी परामर्श सेवा लिएका छन् । सेवा लिनेमध्ये वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २ हजार १ सय ३९ रहेको छ भने ३ सय ४४ जनाले भ्रमण तथा अध्ययनका सिलसिलामा जाने क्रममा परामर्श सेवा लिएका हुन् । आप्रवासी श्रोत केन्द्र मकवानपुरका अनुसार वैदेशिक रोजगारीमा सबभन्दा बढी खाडी मुलुकमा गएका छन् ।
हालसम्म ५६ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा बढी ठगीको मुद्दा रहेको परामर्शकता विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार ठगीसम्बन्धी २४ वटा उजुरी परेकोमा ३ वटा मुद्दाको सफल समाधान भएको छ । समाधान भएका मुद्दाबाट पीडितलाई २ लाख ५० हजार रुपैयाँ असुल गराउन सफल भएको उहाँले जानकारी दिनुभयो ।
विदेशमा रहेका ६ जना नेपालीको मृत्यु भएको तथ्याङ्क केन्द्रमा आएको छ । मृत्यु भएकामध्ये एक जनाको परिवारलाई बिमाबापत १४ लाख रुपैयाँ र अर्का एक जनाको कम्पनीबाट पाउन बाँकी ३ लाख ५९ हजार रुपैयाँ उपलब्ध गराइएको छ । साथै, एक जनाको शव नेपाल ल्याउनका लागि आवश्यक सहजीकरण गरिएको परामर्शदाता विकले जानकारी दिनुभयो ।
रोजगारीका सिलसिलामा ४ जना बिरामी परेको र १९ जनाले काम तथा तलब नपाएको गुनासो गरेका छन् । तलब र कामसम्बन्धी गुनासो गर्ने १९ जनामध्ये ५ जनाको समस्या समाधान भइसकेको छ । वैदेशिक रोजगारीकै क्रममा २ जना जेल परेको र १ जना सम्पर्कविहीन भएका छन् । केन्द्रले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन दैनिकरुपमा सूचना तथा परामर्श सेवा प्रवाह गर्दै आएको छ ।











