हेटौंडाः सडक तथा पुल निर्माणको ठेक्का लिएर लामो समयदेखि काम अलपत्र पार्ने निर्माण व्यवसायी (ठेकेदार)हरुले स्पष्टीकरण बुझाएका छन् । मकवानपुर, बारा र पर्सा जिल्लामा काम अलपत्र पारेका निर्माण व्यवसायीहरुले सडक डिभिजन कार्यालय हेटौंडामा स्पष्टीकरण बुझाएको सडक डिभिजन कार्यालय हेटौंडाका सूचना अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।
कार्यालयले गत कार्तिक ९ गते सूचना जारी गर्दै १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउन अल्टिमेटम दिएको थियो । निर्माण व्यवसायीहरुले बुझाएको स्पष्टीकरणमाथि छलफल भइरहेको सूचना अधिकारी सुवेदीको भनाइ छ । कार्यालयका अनुसार पटक–पटक म्याद थप हुँदै आए पनि दर्जनौं आयोजनाको प्रगति सन्तोषजनक देखिएको छैन । विशेषगरी पुराना र ठूला ठेक्का ओगटेका पप्पु कन्स्ट्रक्सन र मोना जेभीलगायतका कम्पनीसँग सम्बन्धित आयोजनाहरु बढी समस्याग्रस्त देखिएका छन् ।
पर्साको जीतपुर–बिरुवागाउँ–श्रीपुर–पचगाव सडकखण्डमा पर्ने टिलावे नदीमाथि पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले हालसम्म ५८ प्रतिशतमात्रै काम सकेको छ । आर्थिक वर्ष २०६७/०६८ मा २ करोड १४ लाख २५ हजार ६ सय १४ रुपैयाँमा ठेक्का सम्झौता भएको यो पुल २०७० साउनमै बनिसक्नुपर्ने थियो । तर, पटक–पटक म्याद थप गर्दै पछिल्लो पटक २०८१ चैत १६ गतेसम्म पुर्याइएको थियो ।
त्यस्तै, परवानीपुर र पथलैया आइसीडी रोडको स्तरोन्नतिको जिम्मा लिएको पप्पु र लुम्बिनी जेभीले सम्झौताको ८ वर्ष बितिसक्दा ८० प्रतिशतमात्र प्रगति गरेको छ । ४८ करोड २५ लाख २० हजार ४ सय ६१ रुपैयाँको यो आयोजनाको म्याद २०८२ असोजसम्म थपिएको थियो ।
पुल निर्माणमै अन्य कम्पनीहरुको प्रगति पनि निराशाजनक छ । बाराको बनजरियास्थित बंगरी खोलामा पुल बनाउन ठेक्का लिएको इलाइट र मोना जेभीले ८४ प्रतिशत काम सकेका छन् । आर्थिक वर्ष २०७०/०७१ मा ५ करोड ४३ लाख ३७ हजार ७ सय २१ रुपैयाँमा ठेक्का सम्झौता भएको यो पुल विसं २०७३ सालको असार महिनामै बनिसक्नु पर्ने थियो । तर पटक–पटक म्याद गरी २०८२ को पुससम्म योजनाको म्याद लम्ब्याइएको छ ।
डीएस र मोना जेभीले जिम्मा लिएका तीनवटा पुलको अवस्था पनि उस्तै छ । पर्साको इटियाही र मनियारी बीचको सिर्सिया नदीको पुल र निचुता मारेटोलको गंगोल खोलाको पुलको प्रगति ५० प्रतिशत पनि पुगेको छैन । यी दुवै पुल २०७६ सालमै सकिनुपर्नेमा म्याद थपेर २०८१ असारसम्म पु¥याइएको थियो । सोही निर्माण कम्पनीको जिम्मामा रहेको झखरा–शान्थि सडकखण्डको गंगोल खोला पुलको प्रगति भने ७२ प्रतिशत छ ।
सडक निर्माणतर्फ बाराको पचरौता नगरपालिकास्थित श्रीनगर बैरिया हनुमानचोक –गण्डक नहर सडकखण्डको काम पनि सुस्त छ । गणेश निर्माण सेवा प्रालि हेटौंडाले १६ करोड ५४ लाख १५ हजार ७ सय ४८ रुपैयाँमा ठेक्का लिएको यो सडकको प्रगति ६५ प्रतिशत छ । २०८१ माघभित्र सक्ने लक्ष्यसहित आर्थिक वर्ष २०७९/०८० भएको सम्झौताको म्याद थपिएर २०८२ कात्तिकसम्म पुर्याइएको थियो । सडक डिभिजन कार्यालयले व्यवसायीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभए कालो सूचीमा राख्ने वा ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।











