हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा सवारी दुर्घटनामा एकैदिन २ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे र चितवन जिल्लामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल–४ स्थित फुटबल ग्राउण्ड नजिक अरनिको राजमार्गमा बसको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजेको समयमा सिन्धुपाल्चोकको बाह्रबिसेबाट काठमाडौँतर्फ जाँदै गरेको बा.२ ख ६५७९ नम्बरको यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिएको बागमती प्रहरीले जानकारी दिएकोे छ ।
बसको ठक्करबाट पाँचखाल नगरपालिका–४ का ७० वर्षीय दिलबहादुर श्रेष्ठ गम्भिर घाइते भएका थिए । श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको बिहान १० बजेर १६ मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१४, बरौजी चोकमा स्कुटर, मोटरसाइकल र बस एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो १२ बजेर २० मिनेटको समयमा भरतपुरबाट बरौजीतर्फ जाँदै गरेको ना २५ प ९७४९ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०६–००२ प ७४१९ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ठक्करपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२६ पटिहानीका २६ वर्षीय कबिन महतो उछिट्टिएर गीतानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ क ०२०६ नम्बरको सेन्ट्रल कलेज बसको पछाडिको टायरमा ठोक्किँदा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको डाक्टरले दिउँसो १ बजेको समयमा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । यस्तै दुर्घटनामा स्कुटर चालक भरतपुर–१४, सुन्दरबस्तीका ४३ वर्षीय भिम परियार र पछाडी सवार उनकी आमा ६४ वर्षीय सान्ता परियार सामान्य घाइते भएका छन् । उनिहरुको भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको छ । दुर्घटनामा संलग्न तीनै सवारी साधन तथा बस चालक प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ ।











