हेटौंडाः नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय विभेदलाई समेत बढावा दिने गरी म्युजिक भिडियो बनाई युट्युवमा सार्वजनिक गर्ने युवाको समूहलाई मकवानपुर प्रहरीले खोजी गर्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले मकवानपुरको पूर्विक्षेत्र बागमती गाउँपालिकास्थित प्रहरी चौकी फापरबारीबाट प्रहरी परिचालन भइसकेको जानकारी दिनुभएको छ ।
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा छायाङ्कन गरिएको भिडियोका आधारमा त्यस क्षेत्रको प्रहरीलाई परिचालन गरिएको नायव प्रहरी उपरीक्षक रानाले बताउनुभएको छ । हिजो सोमबार अपलोड गरिएको म्युजिक भिडियो एक लाख भन्दा बढीले हेरिसकेको छ । उक्त म्युजिक भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ ।