हेटौँडाबाट प्रकाशित हुने ’समृद्ध समाज राष्ट्रिय दैनिक’ ले आफ्नो १६ औं वार्षिकोत्सव मनाउँदै गर्दा मेरो मनका भित्री कन्दराहरूमा स्मृतिका छालहरू एकपछि अर्को गर्दै ठोकिन आइपुगेका छन् । आजभन्दा करिब एक दशकअघि म एक नवोदित पत्रकारका रूपमा, सपनाका अनगिन्ती रंगहरू बोकेर यही पत्रिकाको दैलोमा पहिलो पाइला राखेको थिएँ । मलाई सम्प्रस पौडेल सरले जोडिदिनु भएको थियो । त्यो क्षण मेरो जीवनको एउटा महत्वपूर्ण मोड थियो, जहाँबाट मेरो पत्रकारिता यात्रा सुरुवात भयो । आज म जहाँ छु, जुन परिचय लिएर उभिएको छु, त्यसको जग र प्रेरणाको मूल स्रोत यही ‘समृद्ध समाज राष्ट्रिय दैनिक’ नै हो भन्ने कुरामा म रत्तीभर पनि द्विविधा मान्दिनँ ।
पत्रकारिता मेरो लागि केवल एउटा पेशा थिएन, यो त एउटा सपना थियो, एउटा जुनून थियो । समाजका विसंगतिहरूलाई उजागर गर्ने, आवाजविहीनहरूको आवाज बन्ने र सत्यको पक्षमा उभिने मेरो बाल्यकालदेखिको अभिलाषा थियो । यही अभिलाषालाई मूर्तरूप दिने अवसर मलाई ‘समृद्ध समाज’ ले प्रदान ग¥यो । मलाई अझै सम्झना छ, पत्रकारिताको प्रारम्भिक दिनहरूमा म कसरी अलमलिएको थिएँ, कहाँबाट सुरु गर्ने, कसरी लेख्ने भन्ने अन्योलमा थिएँ । तर, ‘समृद्ध समाज’ ले मलाई अँगालो हालेर पत्रकारिताको ‘क’ देखि ‘ज्ञ’ सम्मको ज्ञान मात्र दिएन, यसले मलाई स्वतन्त्र भएर, निर्भिक भएर, कसैको प्रभावमा नपरी समाचार लेख्ने साहस र विवेक पनि प्रदान गर्यो ।
यही पत्रिकामा मैले झण्डै साढे तीन वर्ष पत्रकारिताको गहिरो पाठ सिकेँ । यो अवधि मेरा लागि पाठशाला थियो, जहाँ हरेक दिन नयाँ पाठ सिकिन्थ्यो, हरेक घटना एउटा शिक्षा बनेर आउँथ्यो । सम्पादक सुरेश श्रेष्ठ, मेरा अग्रज पत्रकारहरू प्रमोद अर्याल, प्रिया पौडेल लगायत सम्पूर्ण टीमले मलाई एउटा कलिलो बिरुवालाई मलजल गरेर हुर्काएजस्तै गरेर पत्रकारिताको सीप र नैतिकता सिकाउनुभयो । उहाँहरूका ती मार्गदर्शन, ती प्रेरणाका शब्दहरू मेरा लागि जीवनभरका लागि अमूल्य निधि बनेका छन् । उहाँहरूले मलाई लेख्न मात्र होइन, सोच्न, विश्लेषण गर्न र समाजलाई फरक दृष्टिकोणले हेर्न सिकाउनुभयो । आज नेपालका विभिन्न ठूला राष्ट्रिय मिडियाहरूमा काम गर्दा पनि म ‘समृद्ध समाज’ बाट पाएको ज्ञान र अनुभवलाई सधैं सम्झिरहन्छु, किनकि यसले दिएको जग यति बलियो छ कि त्यसैको आडमा म जहाँ पनि आत्मविश्वासी भएर उभिन सक्छु ।
‘समृद्ध समाज राष्ट्रिय दैनिक’ केवल एउटा दैनिक पत्रिका मात्र होइन, यो त एउटा अभियान हो, एउटा विचार हो, एउटा सशक्त आवाज हो । यसले केवल घटनाहरूको विवरण मात्र दिँदैन, यसले समाजका विकृति, विसंगति, भ्रष्टाचार र अन्यायका विरुद्ध निरन्तर कलम चलाउँछ । यसले स्वतन्त्र भएर समाचार लेख्छ, कसैको डर, धम्की वा प्रलोभनमा पर्दैन । सामाजिक र राजनीतिक खबरदारी गर्ने कामलाई यसले आफ्नो मूल धर्मका रूपमा ग्रहण गरेको छ । यही कारणले यो पत्रिका प्रत्येक दिन निकाल्नको लागि मात्रै निस्कँदैन, बरु समाजलाई सचेत गराउन, न्यायको पक्षमा उभिन र लोकतन्त्रलाई बलियो बनाउनका लागि निस्कन्छ भन्ने मेरो अटल विश्वास छ ।
आज पत्रकारितामा विभिन्न प्रश्नहरू उठिरहेका छन् । विश्वसनीयताको प्रश्न, स्वतन्त्रताको प्रश्न, व्यावसायिकताको प्रश्न । यस्ता जटिल प्रश्नहरूको केही उत्तर कम्तीमा काठमाडौं उपत्यका बाहिर (मोफसल) बाट यही ‘समृद्ध समाज’ ले दिइरहेको मलाई आभास हुन्छ । मोफसलमा पत्रकारिता गर्नु आफैंमा एउटा चुनौती हो । स्रोत र साधनको सीमितताका बाबजुद पनि यहाँका पत्रिकाहरूले आफ्नो धर्म निर्वाह गरिरहेका छन् । र, मोफसलमा उत्कृष्ट पत्रकारिता गरिरहेका पत्रिकाहरूमध्ये ‘समृद्ध समाज’ अग्रपंक्तिमा आउँछ । यसले मकवानपुरको पत्रकारिता क्षेत्रमा एउटा ‘एकेडेमी’ को रूपमा आफूलाई स्थापित गरेको छ । यो केवल समाचार छाप्ने कारखाना होइन, यो त नयाँ पुस्तालाई पत्रकारिताको वास्तविक मर्म बुझाउने र उनीहरूलाई समाजप्रति उत्तरदायी बनाउने एउटा जीवन्त पाठशाला हो ।
’समृद्ध समाज’ ले सधैं स्वतन्त्र र निर्भिक पत्रकारितालाई आफ्नो आदर्श वाक्य बनाएको छ । यसले पत्रकारिता पेशा मात्र नभई यो एक सामाजिक उत्तरदायित्व पनि हो भन्ने कुरा आफ्ना पत्रकारहरूलाई सिकाउँछ । मलाई पनि त्यसैगरी सिकाइएको थियो । यसले पत्रकारितालाई केवल जागिरको रूपमा नहेरी, समाजको ऐनाका रूपमा हेर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ । समाजका राम्रा नराम्रा पक्षहरूलाई जस्ताको त्यस्तै प्रतिबिम्बित गर्ने, सत्यलाई निर्धक्क भई प्रस्तुत गर्ने र जनमतलाई सही दिशामा डो¥याउने गहन जिम्मेवारी पत्रकारको काँधमा हुन्छ भन्ने कुरा मैले यहिँबाट नै सिकेको हुँ । पत्रकारिताको यो जिम्मेवारी अरूभन्दा फरक हुन्छ भन्ने कुरा मलाई सधैं झकझक्याइरहने आधार समृद्ध समाजले नै तयार गरेको हो ।
सम्पादक सुरेश श्रेष्ठको नेतृत्वमा ‘समृद्ध समाज’ ले पत्रकारिताको नयाँ आयाम कोरेको छ । उहाँ केवल एक सम्पादक मात्र हुनुहुन्न, उहाँ एक कुशल मार्गदर्शक र समर्पित गुरु पनि हुनुहुन्छ । उहाँले नयाँ पुस्तालाई पत्रकारितामा कसरी जोड्ने, उनीहरूलाई कसरी अब्बल पत्रकारका रूपमा विकास गर्ने भनेर निरन्तर लागीपर्नु भएको छ । उहाँको त्यो लगनशीलता र समर्पण साँच्चिकै अनुकरणीय छ । आजको डिजिटल युगमा जहाँ पठन संस्कृतिको ह्रास भइरहेको छ, यस्तो बेलामा उहाँ पठन संस्कृतिको विकास गर्नुपर्छ भनेर पनि लागीपरेको देख्दा मलाई साह्रै खुसी लाग्छ । एक असल पत्रकार बन्नका लागि व्यापक अध्ययन र ज्ञानको भण्डार हुनुपर्छ भन्ने उहाँको मान्यताले नयाँ पुस्ताका पत्रकारहरूलाई निश्चित रूपमा सकारात्मक प्रभाव पार्नेछ । उहाँको दूरदृष्टि र अथक प्रयासले ‘समृद्ध समाज’ लाई सधैं अग्रगामी र प्रभावशाली बनाएको छ ।
मेरो पत्रकारिताको यात्रामा ‘समृद्ध समाज’ एक यस्तो बोट बन्यो, जसले मलाई छाया दियो, फल दियो र हुर्कनका लागि आवश्यक सबै पोषण दियो । त्यो साढे तीन वर्षको अवधि मेरा लागि पत्रकारिताको विश्वविद्यालय थियो, जहाँ मैले किताबमा नपाइने व्यवहारिक ज्ञान प्राप्त गरेँ । मैले प्रमोद अर्याल दाइबाट समाचार संकलनका तरिकाहरू, प्रिया पौडेल दिदीबाट भाषाको मिठास र प्रस्तुतिको कला सिकेँ । उहाँहरूले मलाई केवल व्यावसायिक पत्रकार बन्न मात्र सिकाउनुभएन, बरु एक असल नागरिक र समाजप्रति उत्तरदायी व्यक्ति बन्न पनि प्रेरित गर्नुभयो । ती दिनहरूका हरेक अनुभव, हरेक सिकाई आज पनि मेरो मानसपटलमा ताजै छन् ।
आज आफ्नो १६ औं वार्षिकोत्सव मनाउँदै गर्दा म उज्वल भविष्यको कामना गर्दछु । यो पत्रिका सधैंभरि सत्यको पक्षमा उभियोस्, निर्भिक र स्वतन्त्र पत्रकारिताको मशाल बालेर अगाडि बढिरहोस् । यसले समाजका हरेक वर्गका मानिसहरूको आवाज बनोस्, अन्यायका विरुद्ध लडिरहोस् र लोकतन्त्रको पहरेदार बनिरहोस् । १६ वर्षको यो यात्रा आफैंमा एउटा ठूलो उपलब्धि हो, र यसका पछाडि सम्पादक सुरेश श्रेष्ठसहित सम्पूर्ण पत्रकार, कर्मचारी, पाठक वर्ग र विज्ञापनदाताहरूको अथक मिहिनेत र विश्वास लुकेको छ ।
अन्त्यमा, ‘समृद्ध समाज राष्ट्रिय दैनिक’ को १६औं वार्षिकोत्सवको सुखद् अवसरमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै, यसले आगामी दिनहरूमा पनि अझ सशक्त, स्वतन्त्र र जिम्मेवार पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रको सेवा गरिरहोस् भन्ने कामना गर्दछु ।











