Home मुख्य समाचार समृद्ध समाज दैनिक ‘पत्रकारिताको एकेडेमी’

समृद्ध समाज दैनिक ‘पत्रकारिताको एकेडेमी’

हेटौँडाबाट प्रकाशित हुने ’समृद्ध समाज राष्ट्रिय दैनिक’ ले आफ्नो १६ औं वार्षिकोत्सव मनाउँदै गर्दा मेरो मनका भित्री कन्दराहरूमा स्मृतिका छालहरू एकपछि अर्को गर्दै ठोकिन आइपुगेका छन् । आजभन्दा करिब एक दशकअघि म एक नवोदित पत्रकारका रूपमा, सपनाका अनगिन्ती रंगहरू बोकेर यही पत्रिकाको दैलोमा पहिलो पाइला राखेको थिएँ । मलाई सम्प्रस पौडेल सरले जोडिदिनु भएको थियो । त्यो क्षण मेरो जीवनको एउटा महत्वपूर्ण मोड थियो, जहाँबाट मेरो पत्रकारिता यात्रा सुरुवात भयो । आज म जहाँ छु, जुन परिचय लिएर उभिएको छु, त्यसको जग र प्रेरणाको मूल स्रोत यही ‘समृद्ध समाज राष्ट्रिय दैनिक’ नै हो भन्ने कुरामा म रत्तीभर पनि द्विविधा मान्दिनँ ।

पत्रकारिता मेरो लागि केवल एउटा पेशा थिएन, यो त एउटा सपना थियो, एउटा जुनून थियो । समाजका विसंगतिहरूलाई उजागर गर्ने, आवाजविहीनहरूको आवाज बन्ने र सत्यको पक्षमा उभिने मेरो बाल्यकालदेखिको अभिलाषा थियो । यही अभिलाषालाई मूर्तरूप दिने अवसर मलाई ‘समृद्ध समाज’ ले प्रदान ग¥यो । मलाई अझै सम्झना छ, पत्रकारिताको प्रारम्भिक दिनहरूमा म कसरी अलमलिएको थिएँ, कहाँबाट सुरु गर्ने, कसरी लेख्ने भन्ने अन्योलमा थिएँ । तर, ‘समृद्ध समाज’ ले मलाई अँगालो हालेर पत्रकारिताको ‘क’ देखि ‘ज्ञ’ सम्मको ज्ञान मात्र दिएन, यसले मलाई स्वतन्त्र भएर, निर्भिक भएर, कसैको प्रभावमा नपरी समाचार लेख्ने साहस र विवेक पनि प्रदान गर्‍यो ।

यही पत्रिकामा मैले झण्डै साढे तीन वर्ष पत्रकारिताको गहिरो पाठ सिकेँ । यो अवधि मेरा लागि पाठशाला थियो, जहाँ हरेक दिन नयाँ पाठ सिकिन्थ्यो, हरेक घटना एउटा शिक्षा बनेर आउँथ्यो । सम्पादक सुरेश श्रेष्ठ, मेरा अग्रज पत्रकारहरू प्रमोद अर्याल, प्रिया पौडेल लगायत सम्पूर्ण टीमले मलाई एउटा कलिलो बिरुवालाई मलजल गरेर हुर्काएजस्तै गरेर पत्रकारिताको सीप र नैतिकता सिकाउनुभयो । उहाँहरूका ती मार्गदर्शन, ती प्रेरणाका शब्दहरू मेरा लागि जीवनभरका लागि अमूल्य निधि बनेका छन् । उहाँहरूले मलाई लेख्न मात्र होइन, सोच्न, विश्लेषण गर्न र समाजलाई फरक दृष्टिकोणले हेर्न सिकाउनुभयो । आज नेपालका विभिन्न ठूला राष्ट्रिय मिडियाहरूमा काम गर्दा पनि म ‘समृद्ध समाज’ बाट पाएको ज्ञान र अनुभवलाई सधैं सम्झिरहन्छु, किनकि यसले दिएको जग यति बलियो छ कि त्यसैको आडमा म जहाँ पनि आत्मविश्वासी भएर उभिन सक्छु ।

‘समृद्ध समाज राष्ट्रिय दैनिक’ केवल एउटा दैनिक पत्रिका मात्र होइन, यो त एउटा अभियान हो, एउटा विचार हो, एउटा सशक्त आवाज हो । यसले केवल घटनाहरूको विवरण मात्र दिँदैन, यसले समाजका विकृति, विसंगति, भ्रष्टाचार र अन्यायका विरुद्ध निरन्तर कलम चलाउँछ । यसले स्वतन्त्र भएर समाचार लेख्छ, कसैको डर, धम्की वा प्रलोभनमा पर्दैन । सामाजिक र राजनीतिक खबरदारी गर्ने कामलाई यसले आफ्नो मूल धर्मका रूपमा ग्रहण गरेको छ । यही कारणले यो पत्रिका प्रत्येक दिन निकाल्नको लागि मात्रै निस्कँदैन, बरु समाजलाई सचेत गराउन, न्यायको पक्षमा उभिन र लोकतन्त्रलाई बलियो बनाउनका लागि निस्कन्छ भन्ने मेरो अटल विश्वास छ ।

आज पत्रकारितामा विभिन्न प्रश्नहरू उठिरहेका छन् । विश्वसनीयताको प्रश्न, स्वतन्त्रताको प्रश्न, व्यावसायिकताको प्रश्न । यस्ता जटिल प्रश्नहरूको केही उत्तर कम्तीमा काठमाडौं उपत्यका बाहिर (मोफसल) बाट यही ‘समृद्ध समाज’ ले दिइरहेको मलाई आभास हुन्छ । मोफसलमा पत्रकारिता गर्नु आफैंमा एउटा चुनौती हो । स्रोत र साधनको सीमितताका बाबजुद पनि यहाँका पत्रिकाहरूले आफ्नो धर्म निर्वाह गरिरहेका छन् । र, मोफसलमा उत्कृष्ट पत्रकारिता गरिरहेका पत्रिकाहरूमध्ये ‘समृद्ध समाज’ अग्रपंक्तिमा आउँछ । यसले मकवानपुरको पत्रकारिता क्षेत्रमा एउटा ‘एकेडेमी’ को रूपमा आफूलाई स्थापित गरेको छ । यो केवल समाचार छाप्ने कारखाना होइन, यो त नयाँ पुस्तालाई पत्रकारिताको वास्तविक मर्म बुझाउने र उनीहरूलाई समाजप्रति उत्तरदायी बनाउने एउटा जीवन्त पाठशाला हो ।

’समृद्ध समाज’ ले सधैं स्वतन्त्र र निर्भिक पत्रकारितालाई आफ्नो आदर्श वाक्य बनाएको छ । यसले पत्रकारिता पेशा मात्र नभई यो एक सामाजिक उत्तरदायित्व पनि हो भन्ने कुरा आफ्ना पत्रकारहरूलाई सिकाउँछ । मलाई पनि त्यसैगरी सिकाइएको थियो । यसले पत्रकारितालाई केवल जागिरको रूपमा नहेरी, समाजको ऐनाका रूपमा हेर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ । समाजका राम्रा नराम्रा पक्षहरूलाई जस्ताको त्यस्तै प्रतिबिम्बित गर्ने, सत्यलाई निर्धक्क भई प्रस्तुत गर्ने र जनमतलाई सही दिशामा डो¥याउने गहन जिम्मेवारी पत्रकारको काँधमा हुन्छ भन्ने कुरा मैले यहिँबाट नै सिकेको हुँ । पत्रकारिताको यो जिम्मेवारी अरूभन्दा फरक हुन्छ भन्ने कुरा मलाई सधैं झकझक्याइरहने आधार समृद्ध समाजले नै तयार गरेको हो ।

सम्पादक सुरेश श्रेष्ठको नेतृत्वमा ‘समृद्ध समाज’ ले पत्रकारिताको नयाँ आयाम कोरेको छ । उहाँ केवल एक सम्पादक मात्र हुनुहुन्न, उहाँ एक कुशल मार्गदर्शक र समर्पित गुरु पनि हुनुहुन्छ । उहाँले नयाँ पुस्तालाई पत्रकारितामा कसरी जोड्ने, उनीहरूलाई कसरी अब्बल पत्रकारका रूपमा विकास गर्ने भनेर निरन्तर लागीपर्नु भएको छ । उहाँको त्यो लगनशीलता र समर्पण साँच्चिकै अनुकरणीय छ । आजको डिजिटल युगमा जहाँ पठन संस्कृतिको ह्रास भइरहेको छ, यस्तो बेलामा उहाँ पठन संस्कृतिको विकास गर्नुपर्छ भनेर पनि लागीपरेको देख्दा मलाई साह्रै खुसी लाग्छ । एक असल पत्रकार बन्नका लागि व्यापक अध्ययन र ज्ञानको भण्डार हुनुपर्छ भन्ने उहाँको मान्यताले नयाँ पुस्ताका पत्रकारहरूलाई निश्चित रूपमा सकारात्मक प्रभाव पार्नेछ । उहाँको दूरदृष्टि र अथक प्रयासले ‘समृद्ध समाज’ लाई सधैं अग्रगामी र प्रभावशाली बनाएको छ ।

मेरो पत्रकारिताको यात्रामा ‘समृद्ध समाज’ एक यस्तो बोट बन्यो, जसले मलाई छाया दियो, फल दियो र हुर्कनका लागि आवश्यक सबै पोषण दियो । त्यो साढे तीन वर्षको अवधि मेरा लागि पत्रकारिताको विश्वविद्यालय थियो, जहाँ मैले किताबमा नपाइने व्यवहारिक ज्ञान प्राप्त गरेँ । मैले प्रमोद अर्याल दाइबाट समाचार संकलनका तरिकाहरू, प्रिया पौडेल दिदीबाट भाषाको मिठास र प्रस्तुतिको कला सिकेँ । उहाँहरूले मलाई केवल व्यावसायिक पत्रकार बन्न मात्र सिकाउनुभएन, बरु एक असल नागरिक र समाजप्रति उत्तरदायी व्यक्ति बन्न पनि प्रेरित गर्नुभयो । ती दिनहरूका हरेक अनुभव, हरेक सिकाई आज पनि मेरो मानसपटलमा ताजै छन् ।

आज आफ्नो १६ औं वार्षिकोत्सव मनाउँदै गर्दा म उज्वल भविष्यको कामना गर्दछु । यो पत्रिका सधैंभरि सत्यको पक्षमा उभियोस्, निर्भिक र स्वतन्त्र पत्रकारिताको मशाल बालेर अगाडि बढिरहोस् । यसले समाजका हरेक वर्गका मानिसहरूको आवाज बनोस्, अन्यायका विरुद्ध लडिरहोस् र लोकतन्त्रको पहरेदार बनिरहोस् । १६ वर्षको यो यात्रा आफैंमा एउटा ठूलो उपलब्धि हो, र यसका पछाडि सम्पादक सुरेश श्रेष्ठसहित सम्पूर्ण पत्रकार, कर्मचारी, पाठक वर्ग र विज्ञापनदाताहरूको अथक मिहिनेत र विश्वास लुकेको छ ।

अन्त्यमा, ‘समृद्ध समाज राष्ट्रिय दैनिक’ को १६औं वार्षिकोत्सवको सुखद् अवसरमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै, यसले आगामी दिनहरूमा पनि अझ सशक्त, स्वतन्त्र र जिम्मेवार पत्रकारिताको माध्यमबाट समाज र राष्ट्रको सेवा गरिरहोस् भन्ने कामना गर्दछु ।

Exit mobile version